बागलुङ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।
राष्ट्रिय दलको मान्यत पाउने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी रहेका छन् । राष्ट्रिय दलको मान्यत पाउनेमा श्रम संस्कृति पार्टी मात्र नयाँ दल रहेको छ ।
समानुपातिक तर्फको १ सय १० सिटको लागि दलहरुबिच प्रतिस्पर्धा रहेको थियो । समानुपातिकतर्फ मङ्गलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७ मतगणना सम्पन्न भएको छ ।
समानुपातिका प्रणालीमा सांसद पद दावी गर्न ३ प्रतिशत मत (थ्रेसहोल्ड) कटाउनु पर्दछ ।
समानुपातिकको अन्तिम मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख ३९ हजार दुई सय ३५ सहित फराकिलो मतले अग्रता कायम गरेको छ ।
नेपाली कांग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३, नेकपा एमालेले १४ लाख ४८ हजार आठ सय ५४, नेकपाले आठ लाख पाँच हजार सात सय ७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत हासिल गरेका छन् ।













































































































































































































