३ श्रावण २०८३, आईतवार

 

काठेखोला गाउँपालिकाको १८औँ अधिवेशन सम्पन्न

बागलुङ । काठेखोला गाउँपापालिका गाउँ सभाको १८औँ अधिवेशन बिहिबार सम्पन्न भएको छ । अधिवेशनमा आर्थिक विकास समितिका संयोजक लक्ष्मण पुनले पेश गरेको आर्थिक कार्यविधि तथा बित्तीय उत्तरदायित्व ऐन २०८२ पारित गरिएको गाउँपालिका प्रवक्ता टिका संगम विकले जानकारी दिए ।

स्थानीय सञ्चित कोषको सञ्चालन तथा व्यवस्थापन, बजेट तर्जुमा, निकासा तथा खर्च, आर्थिक कारोबार लेखाङ्कन तथा प्रतिवेदन आन्तरिक नियन्त्रण गर्न आवश्यक रहेकोले ऐन पारित गरिएको उल्लेख गरिएको छ ।

लेखा परीक्षण तथा अन्य आर्थिक क्रियाकलापलाई नियमित र व्यवस्थित गरि स्थानीय वित्तीय व्यवस्थापन प्रणालीलाई पारदर्शी, नतिजामुलक तथा उत्तरदायी बनाउन ऐन बनाइएको उल्लेख गरिएको छ ।

अधिवेशनमा गाउँपालिका अध्यक्ष राजु थापाले वार्षिक नीति तथा कार्यक्रमको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक, सामाजिक, पूर्वाधार र सामाजिक समावेशिकरण तर्फका महत्वपूर्ण उपलब्धीहरुलाई उल्लेख गरिएको छ ।

पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण तथा प्रचाररप्रसार, कृषि तथा पशुपालन क्षेत्रलाई स्थानीय अर्थतन्त्रको प्रमुख आधारको रुपमा विकास गर्ने उद्धेश्यले कृषिको व्यवसायीकरण, आधुनिकीकरण तथा उत्पादन वृद्धि कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सामाजिक विकास तर्फ स्वास्थ्य सेवाको पहुँच विस्तार, मातृ तथा शिसु स्वास्थ्य सुधार, पोषण कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ ।

पूर्वाधार तर्फ गाउँपालिका भित्रका सडकलाई बाह्रै महिना सवारी सञ्चालन योग्य बनाउने प्रयत्न गरिएको, खेलमैदान तथा अन्य सार्वजनिक संरचनाहरु निर्माण गरिएको उल्लेख गरिएको छ ।

सामाजिक समावेशीकरण तर्फ महिला, दलित, जनजाति ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि विभिन्न लक्षित कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ । साथै सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाइएको उल्लेख गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले पालिकाको कार्यक्रम र बजेट माथिको समीक्षात्मक प्रगति पेश गरेका थिए ।उनले पेश गरेको आर्थिक प्रगति प्रतिवेदनमा पालिकाका २५१ योजना मध्ये १३९ सम्झौता भएको र ३८ योजना समपन्न भएको उल्लेख गरिएको छ ।

वडा तहका २३७ योजना रहेकोमा १२६ योजना सम्झौता भएका छन् भने २५ योजना सम्पन्न गरिएको छ ।गाउँपालिका गौरवका २ आयोजना मध्ये दुईवटैको सम्झौता गरिएको छ । प्रदेश विशेषका एक योजना सम्झौता हुन बाँकी रहेको छ । प्रदेश समपुरकका एक योजना सम्झौता गरिएको छ । संघीय सशर्तका २ योजना मध्ये २ वटै सम्झौता भई एक वटा सम्पन्न गरिएको छ ।

संघीय विशेष अन्तरगतका २ योजना मध्ये एक वटा सम्पन्न भएको छ । संघीय समपुरकका २ योजनामा २ वटै सम्झौता गरिएको छ । वडा तह र पालिका समपुरकका ३ योजना मध्ये एकवटा सम्पन्न भएको छ भने अन्य योजना सम्झौता गरिएको छ ।

इपरिन्युजबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung