बागलुङ । जिल्ला प्रशासन कार्यालय, बागलुङ र गुणस्तर तथा नापतौल कार्यालय, पोखरा र नेपाल आयल निगम लिमिटेड, पोखराको संयुक्त आयोजनामा शुक्रबार बागलुङको गलकोट नगरपालिका–३ स्थित हटिया बजार र ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा अनुमगन गरिएको छ ।
संयुक्त अनुगमन अनुगमन टोलीले ग्याँस डिलर, पेट्रोल पम्प, सुनचाँदी पसल, किराना तथा खाद्य पसल, सपिङ सेन्टर तथा मार्टहरूमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा बजारमा एलपी ग्यास र इन्धन आपूर्तिमा कुनै समस्या नरहेको पाइएको जिल्ला प्रशासन कार्यालय, बागलुङका प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिए ।
केही व्यवसायीले मूल्य सूची नराखेको, उचित प्याकेजिङ नगरेको तथा नापतौल उपकरणमा समस्या देखिएको पाइएपछि त्यस्ता व्यवसायीलाई पहिलोपटकलाई सचेत गराइएको उहाँको भनाइ छ ।
उपभोक्ता हितको संरक्षणसँगै वस्तुको गुणस्तर सुनिश्चित गर्न, पेट्रोल, डिजेल र ग्यासमा कुनै अनियमितता भए÷नभएको विषयमा बजार अनुगमन गरिएको हो ।
बजारमा कृत्रिम अभाव र कालोबजारी नगर्न, उपभोक्तालाई ठगी हुनबाट जोगाउन तथा व्यवसायीलाई नियमअनुसार काम सचेत तुल्याइएको संयुक्त अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, बागलुङका प्रशासकीय अधिकृत खिमबहादुर विक, गुणस्तर तथा नापतौल कार्यालय, पोखराका सहायक नापतौल विज्ञ मनोजकुमार पोखरेल र नेपाल आयल निगम लिमिटेड, पोखराका सहायक प्रबन्धक मित्र बन्धु गैरेसहित प्रहरी, पत्रकार तथा कर्मचारीको उपस्थिति रहेको थियो ।
















































































































































































































