बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा सांसद बालेन्द्र साहले आगामी १३ गते राम नवमीको दिन प्रधानमन्त्री पदको शपथग्रहण गर्दैछन् ।
प्रतिनिधि सभाको लागि भएको निर्वाचनकै इतिहासमा अत्यधिक मत (१८२ सिट) र जनसमर्थनसहित साहको नेतृत्वमा नयाँ सरकार बन्न लागेको हो ।
रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा घोषणा गरेको थियो। रास्वपाले विधान संशोधन गरेर बालेनलाई संसदीय दलको नेता बनाउने बाटो खोल्ने तयारी गरेको छ ।
रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच पछिल्लो छलफल काठमाडौँको रोयल सिंगी होटेलमा सम्पन्न भएको थियो।
१३ गते नै सानो आकारको मन्त्रिपरिषद् पनि गठन गर्नेगरी छलफल भए पनि व्यक्तिबारे भने टुंगो लाग्न बाँकी रहेको र को को मन्त्री बन्ने ? विषयमा छलफल भइरहेको छ ।
संघीय संसद सचिवालयले चैत्र १२ गते दिउँसो २ बजे सांसदको शपथ लिने तयारी गरि रहेको छ।
जेनजी आन्दोलनको जगमा सरकार निर्माण हुन लागेकोले शपथग्रहणलाई भड्किलो नबनाईकन औपचारिक र सामान्य बनाउने रास्वपाको तयारी छ । शपथग्रहण समारोहको तयारी र व्यवस्थापन राष्ट्रपति कार्यालयले सुरु गरि सकेको छ ।
१३ गते प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण हुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति कार्यालयमा शपथग्रहणको एउटा प्रकृया हुन्छ, त्यसै अनुसार अतिथिहरूलाई निमन्त्रण गर्ने चलन हुन्छ त्यसमा शाहले चाहेमा अतिरिक्त महानुभावहरूलाई निम्त्याउन पनि सकिन्छ ।
शपथग्रहण समारोहमा अतिथिहरूको सूचीमा विशिष्ट पदाधिकारीहरूसँगै राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुखहरू रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन कुमार थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र श्रम संस्कृति पार्टीका हर्क साम्पाङलाई आमन्त्रण गर्ने तयारी भएको छ ।
रास्वपाले एकल बहुमत प्राप्त गरेपछि सरकारको नेतृत्व गर्न लागेको हो ।













































































































































































































