बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा सांसद बालेन्द्र साह (बालेन) संसदीय दलको नेतामा चयन भएका छन् ।
बिहीबार रास्वपा कार्यालय वनस्थलीमा भएको बैठकले विधान संशोधन गरी संसदीय दलको नेतामा साह चयन भएसँगै उनी प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ।
बहुमत प्राप्त दलका संसदीय दलका नेता प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था रहेको छ ।निर्वाचनबाट स्पष्ट बहुमत पाएको रास्वपाका संसदीय दलका नेता बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(१) बमोजिम सरकार गठनका लागि आह्वान गर्नेछन् ।
संविधानको उक्त धारामा भनिएको छ, राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ।
साथै अब बन्ने मन्त्रिपरिषद्मा को को मन्त्री बन्दै छन् ? त्यसको बारेमा पनि गृह कार्य सुरु भएको छ । मन्त्रीको नाम आजै टुंगो लगाउन रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बुढानीलकण्ठस्थित रविको निवासमा छलफलमा जुटेका हुन् ।
मन्त्रीको आकांक्षीहरू धेरै भएको हुँदा उनीहरूले भागबन्डाका आधारमा मन्त्री टुंग्याउने छन् कि सहमतिमा यो सबैको चासोको विषय हो ।
साथै रास्वपका उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री सुनिल लम्साल, प्रवक्ता मनिष झा, सांसदहरू शिशिर खनाल, सोबिता गौतम, राजुनाथ पाण्डे लगायतको नाम मन्त्री हुने चर्चामा भएपनि को को मन्त्री बन्ने भन्ने अन्तिम रूप दुई नेताको निर्णयमा निर्भर छ ।
रास्वपाले प्रशासनिक खर्च घटाउन मन्त्रालयको संख्या १५ देखि १८ मा सीमित गर्ने तयारी थालेका छन् ।













































































































































































































