बागलुङ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास भत्काउन स्थानीय प्रशासनले रोक लगाएको छ । साथै सरकारले देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ ।
देउवा परिवार विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो ।
प्रमाण नष्ट गर्नसक्ने आशंकामा देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले रोक लगाएको हो ।
प्रहरीले देउवाका छोरा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिव ७३ रोपनी जग्गाको विवरणहरु र उनका नातेदार भुषण राणा, प्रदीपशम्सेर जबरालगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको आर्थिक कारोवारको विवरण पनि संकलन गरि रहेको छ ।
साथै नक्कली भुटानी शरणार्थी प्रकरण र नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा दिइएको उजुरीमाथि पनि छानबिन भइरहेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा शेरबहादुर देउवा र आरजु राणा देउवामाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो ।













































































































































































































