४ श्रावण २०८३, सोमबार

 

सहकारीबाट ऋण लिनेले तिर्नु पदैन भन्ने भ्रम नराख्नुहोस् : रजिष्ट्रार रिजाल

बागलुङ । गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार भेषराज रिजालले सहकारीबाट लगेको ऋण मिनाहा हुन्छ भन्ने भ्रम नपाल्न ऋणी शेयर सदस्यहरुलाई आव्हान गर्नु भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले सहकारी रजिष्ट्रार कार्यालय पोखराको सहयोग र बागलुङ नगरपालिकाको समन्वयमा आज बागलुङमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा रिजालले यस्तो आव्हान गर्नु भएको हो ।

सहकारी संस्थामा सदस्यहरुले दुख सुख गरेर जम्मा गरेको वचत संस्थाले ऋण लगानी गरेको हुन्छ, ऋण लगेपछि त्यसको ब्याज र किस्ता भुक्तान गर्ने दायित्व ऋणी सदस्यहरुको हो, रजिष्ट्रार रिजालले भन्नुभयो,–‘केही ऋणी सदस्यहरु मिनाहा हुन्छ भन्ने भ्रममा परेर ऋण मिलान नगरेको जानकारी पाएका छौ, सहकारीबाट लगेको ऋण मिनाहा हुदैन, समयमा ऋण मिलान गर्नु होला ।’

सहकारी संस्थामा समस्या आएको खण्डमा सञ्चालकसँगै ऋणीलाई पनि कानुनी प्रक्रिया अगाडि बढाइने भएकाले ऋण समयमै तिर्नेतर्फ लाग्न उहाँले सुझाव दिनुभयो । सहकारीबाट ऋण लगेर तिर्न अटेरी गर्नेहरुलाई नियमनकारी निकायबाट पनि असुली सम्बन्धी प्रक्रिया अगाडि बढाइएको जानकारी गराउदै रिजालले भन्नुभयो,–‘ऋण असुली गरेर पनि वचत फिर्ता नहुने अवस्था आएमा सञ्चालकको जायजेथाबाट असुल उपर गरेर वचत फिर्ता हुन्छ ।’

सहकारीमा वचत फिर्ता गर्ने दायित्व सञ्चालकको हो, सञ्चालकहरुले बदमासी गरेको भए कार्वाही सञ्चालकलाई हुन्छ, होइन, सञ्चालकले लगानी गरेको ऋण असुली नभएका कारण समस्या भएको हो भने ऋणी सदस्यहरुलाई पनि कार्वाही हुन्छ भन्ने कुरालाई ख्याल गर्न उहाँले आग्रह गर्नु भयो ।

सहकारी संस्थाले सदस्यलाई गरेको लगानी ऋणी सदस्यको जिम्मेवारी भए जस्तै सहकारी संस्थाले अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको जवाफदेही सञ्चालक हुने उहाँको भनाइ थियो । सहकारीमा देखिएका समस्या समाधानका लागि अभियान, सरकार र नियामक निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), केन्द्रीय दुग्ध सहकारी संघका सञ्चालक दिपक गौतम, जिल्ला सहकारी संघका निवर्तमान लेखा संयोजक मिनबहादुर केसी (मिलन), एकता सहकारी संस्थाका उपाध्यक्ष रुद्रबहादुर महत लगायतले सहकारीमा देखिएका समस्या समाधान गरी सहकारी व्यवसायलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सक्रियता हुनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा सहकारी रजिष्ट्रार कार्यालयका अधिकृत सूर्य प्रसाद आचार्य र जिल्ला सहकारी संघका सल्लाहकार रामबहादुर जिसीले सहकारीमा शेयर सदस्य, सञ्चालक र व्यवस्थापनको भूमिका, सहकारीमा ऋण व्यवस्थापनका विषयमा सहजीकरण गर्नु भएको थियो ।

६९औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आयोजित सञ्चालकको भूमिका तथा ऋण व्यवस्थापन कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता, सञ्चालक तथा शिक्षा उपसमितिका संयोजक जगन्नाथ सापकोटाको स्वागत र सचिव गणेश नेपालीको सञ्चालन सम्पन्न भएको थियो ।

राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित कार्यक्रमको दोस्रो दिन बिहीवार बिहान सहकारी सम्बन्धी चलचित्र लक्ष्मी प्रसादको विशेष शो प्रर्दशन गर्ने तथा दिवसको मुख्य दिन चैत २० गते बागलुङ नगरपालिकासँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम गरिने संघले जनाएको छ ।

आर्दशसंचारबाट

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung