बागलुङ। बागलुङ नगरपालिका विभिन्न सडकमा स्मार्ट बत्ती जडान गरिएको छ । सोमबार बागलुङ नगरपालिका-२ लोकतान्त्रिक चोकमा हाइमास्ट बत्तीको बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले सुभारम्भ गर्नु भएको छ ।
उज्यालो बागलुङ कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिकाको विभिन्न वडाको मुख्य मुख्य सडकमा स्मार्ट बत्ती जडान गरिएको र अन्य वडाहरुमा पनि क्रमश जडान गरिने मेयर श्रेष्ठले बताउनुभयो ।
पहिलो चरणमा गरेर मुख्य चोकमा १० वटा हाइमास्ट बत्ती जडान गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्माले जानकारी दिनुभयो ।
नगरपालिकाले उज्यालो बागलुङ अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा सडकमा बत्ती जडान गरिएको र त्यसको लागत ३६ लाख ८२ हजार, ३ सय ४५ रुपैयाँ रहेको नगरपालिकाका प्रशासन प्रमुख भिमसेन पन्तले नयाँ विश्वलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार राजमार्ग, पहुँच सडक, वडा सिमाना सडक, रणनीतिक महत्त्व र व्यवसायीक चहलपहल बढी हुने सडकमा बत्ती जडान गरिएको हो ।
यात्रु, बजारमा सामान खरिद गर्ने ग्राहक, विद्यार्थी, आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षा र सहजताको लागि उज्यालो बागलुङ अभियान अन्तर्गत स्मार्ट बत्ती जडान गरिएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो ।
बागलुङ नगरपालिकाको मालढुंगा, कालिका भवगती मन्दिरको गेट अगाडि, ट्राफिक चोक, चिप्लेटी बसपार्क, बुद्ध चोक, लोकतान्त्रिक चोक, अस्पताल रोड, जिप पार्क, उपल्लाचौर र बागलुङ बसपार्कमा पहिलो चरणमा स्मार्ट बत्ती जडान गरिएको हो ।



















































































































































































































