बागलुङ । धवलागिरि बहुमुखी क्याम्पसमा एक करोड रुपैयाँको छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको छ ।
क्याम्पसका विद्यार्थीले विपन्न तथा प्राविधिक विषय पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्धेश्यले एक करोड रुपैयाँको छात्रवृत्ति अक्षय कोष स्थापना गरेका छन्।
उक्त रकम देउसी भैलो खेलेर संकलन गरिएको हो । तत्कालिन स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदीप सागर कँडेल र तत्कालिन क्याम्पस प्रमुख प्रा. डा. राम प्रसाद उपाध्यायको नेतृत्वमा आर्थिक संकलनको लागि तिहारमा देउसी भैलो आयोजना गरिएको थियो ।
मंगलबार त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्गबहादुर केसीको प्रमुख आतिथ्यतामा १ करोड ९ लाख ४१ हजार ६ सय ५१ रुपैयाँ कँडेलले क्याम्पस संचालक समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापा र क्याम्पस प्रमुख सह–प्राध्यापक सुदर्शन सिलवाललाई हस्तान्तरण गरेका थिए ।
क्याम्पसमा प्राविधिक विषय अध्ययन गर्न चाहने विपन्न विद्यार्थीलाई छात्रावासको व्यवस्थापनसहित कोषबाट सहयोग गरिने कँडेलले जानकारी दिनुभयो ।
क्याम्पसमा स्नातक तहमा विज्ञान, बीबीए र बीसीआईटी विषयको अध्यापन गरिन्छ ।
प्राविधिक विषयमा अब्बल नतिजा ल्याएको यस क्याम्पसमा ३५ जना आंशिक शिक्षक राखेका छन् ।
पाठ्यक्रमको ६० प्रतिशत भार आंशिक र करार शिक्षकको भरमा चलेको क्याम्पस प्रमुख सह–प्राध्यापक सिलवालले बताउनुभयो ।
धवलागिरि बहुमुखी क्याम्पसको स्थापनाको विसं २०१९ जेठ एक गते बागलुङ नगरपालिका ३ राधाकृष्ण टोलस्थित विद्यामन्दिर हाइस्कुलबाट रात्रि कक्षाको रुपमा सुरु भएको हो ।















































































































































































































