बागलुङ । २०६६ साल चैत २६ गते स्थापना भएको सिवाईसी बचत तथा ऋण सहकारीले १७ वर्षमा प्रवेश गरेको छ । २५ वटा सेवा केन्द्र सहित २७ हजार ६४ जना सदस्य रहेको सहकारीले पत्रकार सम्मलेनमा जानकारी दिदै नयाँ कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
कार्यक्रममा कर्जा लिएरपछि कर्जादाता कृष्ण बहादुर सार्कीको मृत्युपश्चात कर्जा बिमा मार्फत उक्त ऋण रकमको रु ११ लाखको चेक सार्कीका श्रीमती ओमा सार्कीलाई संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्माले हस्तान्तरण गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्माले आय आर्जनमा सघाउने, एक हजार सदस्यलाई स्वरोजगार बनाउने, युवालाई सिप प्रदान गर्ने, फरक क्षमता भएकालाई एक प्रतिशत व्याजदरमा ऋण दिने, १५० जेष्ठ नागरिकलाई पेन्सन दिने लगायतको काम गरिरहेको बताउनभयो ।
संस्थाले समुदायलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउदै अध्यक्ष शर्माले ऋणको बिमा गर्दा ऋणीको मृत्यु भएमा बिमाले ऋण तिर्ने बताउनुभयो ।

संस्थाले आगामी दिनमा सहकारीमार्फत सदस्यहरूको आर्थिक सशक्तिकरण, युवामा उद्यमशीलता विकास तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने बताइएको थियो ।
कार्यक्षेत्रका ८० प्रतिशत घरधुरी सिवाईसीका सदस्य भएका वडालाई ‘पूर्ण सदस्य वडा’ घोषणा गर्ने अभियान सञ्चालन गर्ने, आकस्मिक ऋण सेवा प्रदान गर्ने, ‘घर–घरमा सिवाईसी’ अभियान सञ्चालन गर्ने, संस्थाले केही विशेष समूहका सदस्यका लागि थप सहुलियत समेत प्रदान गर्ने, महिलाको सहभागिता बढाउन संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
संस्थाको विभिन्न कोषमा करिब १ करोड ९५ लाख रुपैयाँ, भन्दा तरलता ३८.५६ प्रतिशत, संस्थाको कुल सम्पत्ति करिब रु २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
‘स्कुल–स्कुलमा सिवाईसी’ कार्यक्रममार्फत विद्यालय तहमा बचत तथा वित्तीय साक्षरता अभिवृद्धि, अभिभावक र बालबालिकाबिचको सम्बन्ध सुदृढ बनाउन अभिभावक सचेतना कार्यक्रम, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक कार्यमा सहकार्य गर्दै समुदायमा सक्रिय भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षता, सहसचिव सुवास आचार्यको स्वागत तथा नेपाल पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सृजना पन्तको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।













































































































































































































