बागलुङ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य लालबहादुर थापालाई प्रमुख स्वकीय सचिव नियुक्त गर्नु भएको छ ।
मन्त्रीको सचिवालय गठन प्रक्रिया अन्तर्गत थापालाई सातौं तहको अधिकृत स्तरको सेवा सुविधा पाउने गरी प्रमुख स्वकीय सचिव नियुक्त गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
प्रमुख स्वकीय सचिवको नियुक्ती पाएको २ दिन भयो, मन्त्रीको सचिवालयबाट मन्त्रालयका गतिविधिलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफलमै छौं, प्रमुख स्वकीय सचिव थापाले भन्नुभयो ।
प्रमुख स्वकीय सचिवमा नियुक्त भएका थापा एमाले बागलुङको सचिव भइसक्नु भएको थियो । २०७८ मा एमाले विभाजन हुँदा नेकपा एसको जिल्ला अध्यक्ष बनेका थापा केही समय अघि एमाले प्रवेश गर्नु भएको थियो ।
एमाले प्रवेश गरेसंगै थापालाई पार्टीले गण्डकी प्रदेश कमिटि सदस्यमा मनोनित गरेको थियो ।
मन्त्रालयको सचिवालय चलाउनका लागि चाहिने जनशक्ति अन्तर्गत मन्त्री नेपालीले यसभन्दा पहिला निजी सचिवमा सन्तोष अधिकारी र स्वकीय सचिवमा हरि बराइलीलाई नियुक्त गर्नु भएको छ ।
गण्डकीका मुख्यमन्त्री सुरन्द्रराज पाण्डेले बैशाख २ गते ८ जना मन्त्री नियुक्त गर्नु भएको थियो ।
मौजुदा सबै मन्त्रीहरुलाई विदाइ गरेर नियुक्त गरेका ८ जना मन्त्रीमा बागलुङका एमाले नेता गोविन्द नेपालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री नियुक्त गर्नु भएको थियो ।
कांग्रेस र एमालेको गठबन्धनमा बनेको गण्डकी प्रदेश सरकारमा यसभन्दा पहिला एमालेबाट बागलुङकै कृष्ण पाठक स्वास्थ्यमन्त्री रहनु भएको थियो ।













































































































































































































