बागलुङ । जिल्ला सहकारी संघ, बागलुङले पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आफ्नो १९औँ स्थापना दिवस मनाएको छ ।
आइतबार पत्रकार महासंघको सभाहलमा आयोजित उक्त कार्यक्रमका वक्ताहरुले सहकारी क्षेत्रका समस्या समाधानका लागि सम्बद्ध सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे ।
संघका सल्लाहकार दीपक गौतमले सहकारी क्षेत्रका उदाहरणीय र असल अभ्यासलाई प्रसार गर्नुपर्ने र गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए ।
उहाँले सरकारले पनि सहकारी क्षेत्रका समस्या समाधानमा पहल लिएको बताए ।
कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले सहकारी क्षेत्रका कमीकमजोरीमा सञ्चार क्षेत्रले खबरदारी गर्नुपर्ने बताए । उनले जिल्लाको सञ्चार क्षेत्रको विकासमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा सहकारी संघका सल्लाहकार रामबहादुर जिसीले संघ स्थापनादेखि हालसम्मको अवस्था र प्रगतिबारे जानकारी गराएका थिए ।
समग्र जिल्ला र नेपालको सहकारी क्षेत्रका विद्यमान अवस्था, चुनौती र अवसरबारे प्रस्तुतीकरण गरेका थिए ।
सल्लाहकार जिसीले सञ्चार क्षेत्र र सहकारीकाबीच समन्वय र साझेदारीको खाँचो रहेको औँल्याए । कार्यक्रम संघका अध्यक्ष खिम कार्की, सञ्चालक सदस्य जगन्नाथ सापकोटाको स्वागत र सचिव गणेश नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकार र सहकारी क्षेत्रका अगुवा व्यक्तिहरुको सहभागिता रहेको थियो ।













































































































































































































