काठमाडौं। सरकारी स्वामित्वको नेपाल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकले चालू आवको चैतसम्म २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
बैंकले गत आवको चैत मसान्तसम्म २ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। त्यसको तुलनामा चालू आवमा ०।३४ प्रतिशतको वृद्धि देखिएको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ७ अर्ब १० करोड ७ लाखबाट ३ प्रतिशतले बढेर ७ अर्ब ३१ करोड ३२ लाख पुगेको छ।
आम्दानीमा वृद्धि आएसँगै बैंकको कुल सञ्चालन आम्दानी पनि ८ अर्ब ५६ करोड ८६ लाख रुपैयाँबाट २।४६ प्रतिशतले वृद्धि भई ८ अर्ब ७७ करोड ९० लाख नाघेको छ। बैंकको सञ्चालन मुनाफा पनि ४ अर्ब ३१ करोड २७ लाख रुपैयाँबाट १२.५२ प्रतिशतले वृद्धि भई ४ अर्ब ८५ करोड २८ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३० करोड ६२ लाख रुपैयाँबाट बढेर ३२ करोड १३ लाख रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी २५.२६ रुपैयाँबाट बढेर २५.३४ रुपैयाँ पुगेको छ। खराब कर्जा ५.४५ प्रतिशतबाट घटेर ४.९६ प्रतिशतमा झरेको छ।
बैंकको प्रतिसेयर नेटवर्थ २७२.७९ रुपैयाँ र बेस रेट ४.७१ प्रतिशत छ। चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ६ करोड ८८ लाख सञ्चित छ।
बैंकले चैतसम्म २ खर्ब ३९ अर्ब ४४ करोड ४६ लाख कर्जा प्रवाह गरी ३ खर्ब ८४ अर्ब ३७ करोड ९२ लाख निक्षेप संकलन गरेको छ।













































































































































































































