बागलुङ । विद्यामन्दिर पुस्तकालय बागलुङको ७७औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै उहाँले पठन संस्कृतिको विकासमा महत्वपूर्ण योगदान दिएको विद्यामन्दिर पुस्तकालयको संस्थागत विकासमा आफूले एउटा इटा थप्न प्रयत्न गर्ने बताउनुभयो । अध्ययन, तर्क र विमर्शले मानिसलाई अझ विकसित गर्ने र जहाँ त्यो कुरा ओझेलमा पर्छ त्यस्तो समाजलाई हल्ला र कोलाहलले घेर्ने बताउनुभयो ।
यस वर्षको ओम प्रसाद गौचन-मेघ कुमार वैद्य सम्मान स्वास्थ्यकर्मी तथा समाजसेवी यशोदा राजभण्डारीलाई प्रदान गरिएको छ ।
बागलुङ नगरपालिका-३ राधाकृष्ण टोलमा विसं २००९ सालमा जन्मिएकी र पोखरा बसोबास गर्नु हुने राजभण्डारीलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री गोविन्दबहादुर नेपाली र विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माले नगद पाँच हजार, दोसल्ला र कदरपत्रले सम्मान गर्नु भएको थियो ।
साहित्यकार काजिरोशनले सम्मानित व्यक्तित्व राजभण्डारीको बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा कार्यवाहक प्रधान संरक्षक तथा पूर्वअध्यक्ष लालचन्द्र राजभण्डारी, सम्मानित व्यक्तित्व यशोदा राजभण्डारी र नन्दगंगा स्मृति कोषका संरक्षक विप्लव शर्माले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा यस वर्षको उत्कृष्ट पाठकको रुपमा पवन सापकोटा र उत्कृष्ट वाल पाठकको रुपमा इन्दु थापा मगरलाई पुरस्कृत गरिएको थियो ।
यस्तै पुस्तकालयमा १९ जना नयाँ आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।
साथै पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्मा, श्रीमती सिता शर्माले आफ्ना आमाबुबा नन्दकली उपाध्याय र गंगादत्त उपाध्यायको स्मृतिमा स्थापना गरेको नन्द–गंगा स्मृति कोषबाट माध्यमिक शिक्षा परिक्षा एसईईमा उत्कृष्ट अंक ल्याउने रुद्र पिपल माविका विद्यार्थी ज्ञान कुमार श्रीस र गणेश माविका विद्यार्थी दिपबहादुर श्रेष्ठलाई प्रशंसा पत्र र नगद सहित पुरस्कृत गरिएको थियो ।
सभामा सदस्य गोकुल प्रसाद कँडेलले प्रगति प्रतिवेदन र सदस्य अधिवक्ता गोविन्द प्रसाद वझाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, उपाध्यक्ष राजन प्रसाद शर्माको स्वागत र सदस्य गोकुल प्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।














































































































































































































