३ श्रावण २०८३, आईतवार

 

बागलुङ दुग्ध सहकारीको मोही ब्राण्डिङ सहित बजारमा

बागलुङ । साढे दुई दशकदेखि दूध र दुग्धजन्य पदार्थको उत्पादन, प्रशोधन र बजारीकरणमा क्रियाशील बागलुङ दुग्ध सहकारी संघले मोही ९मही० ब्राण्डिङ सुरु गरेको छ।

२६औँ स्थापना दिवसको अवसर पारेर संघले जेठ १ गतेदेखि बागलुङ बजारबाट मोही ब्राण्डिङको तयारी गरेको हो।

स्थापना दिवसका अवसरमा बुधवार बागलुङ नगरपालिका वडा नं २ श्रीनगरटोलस्थित संघको कार्यालयमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा संघका अध्यक्ष दीपक गौतमले मोहीको बिक्री वितरण गर्न लागिएको जानकारी दिनुभयो।

उपभोक्ताहरू माझ परम्परागत तथा गुणस्तरीय दुग्ध पदार्थलाई थप व्यवस्थित रूपमा प्रस्तुत गर्ने उद्देश्यले मोही ब्राण्डिङ अभियान थालिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो।

मोहीको एक लिटरको ७० रुपैयाँ कायम गरेको सहकारीले जनाएको छ । बजारमा आएको मोही शुक्रबार विहान ७ बजेदेखि औपचारिक रुपमा बजारमा विक्री वितरण हुन लागेको छ ।

संघले हाल खुला दूध, प्याकेट दूध, खुला तथा प्याकेट दही, खुला तथा प्याकेट घ्यू, खुवा, विभिन्न क्वालिटीका आइसक्रिम, खुला तथा प्याकेट छुर्पी, लस्सी, पनीर, खुवा, नौनी लगायतका दुग्धजन्य पदार्थ बिक्री वितरण गर्दै आएकोमा पछिल्लो समय मोही समेत विक्री वितरण हुन थालेको संघले जनाएको छ।

संघका अनुसार स्थानीय किसानबाट संकलित दूधलाई प्रशोधन गरी बजारमा गुणस्तरीय उत्पादन उपलब्ध गराउने अभियानअन्तर्गत अब मोहीलाई पनि छुट्टै पहिचानसहित बजारमा ल्याउन लागिएको हो।

स्वास्थ्यका दृष्टिले उपयोगी तथा परम्परागत नेपाली पेयका रूपमा परिचित मोहीको ब्राण्डिङले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै दुग्ध उपभोग संस्कृति विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बागलुङका विभिन्न १५ वटा दुग्ध सहकारी संस्थाका शेयर सदस्य कृषकहरूले उत्पादन गरेको दूध सहकारी संस्थाले संकलन गरेर संघसम्म ढुवानी गर्ने गरेका छन्।

सदस्यको उत्पादनलाई बजारमा दूध विक्री वितरण, प्रशोधित सामग्रीको बजारीकरण गर्दै आएको छौँ, दुग्ध सहकारी संघका अध्यक्ष गौतमले भन्नुभयो, –‘कृषकहरूको दूध र दुग्धजन्य पदार्थ बिक्री वितरण गरेर प्रत्येक महिना करिब ९० लाख रुपैयाँ गाउँ जाने गरेको छ।’

गत आर्थिक वर्षमा संघले १० करोड ९९ लाख १७ हजार ८५५ रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री वितरण गरेको छ।

कृषकहरूले उत्पादन गरेको दूध संकलन, प्रशोधन र बजारीकरणसँगै पशु उपचार, बिमा, घाँस, आहार लगायतमा संघले सहकारी संस्थाहरूमार्फत कृषक सदस्यहरूलाई सहयोग गर्दै आएको अध्यक्ष गौतमले जानकारी दिनुभयो।

८ वटा दुग्ध उत्पादक सहकारी संस्थाहरू मिलेर २०५७ चैतमा स्थापना भएको बागलुङ दुग्ध उत्पादक सहकारी संघले २०५८ जेठ १ गतेदेखि दूधको कारोबार सुरु गरेको थियो। पहिलो दिन १४१ लिटर दूध संकलन गरेर दूधको कारोबार सुरु गरेको संघले हाल दैनिक करिब ३ हजार लिटर दूध संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको छ।

१५ वटा सहकारीका करिब १५ सय सहकारीका शेयर सदस्य कृषकहरूको उत्पादनलाई बजारसम्म ल्याउने र बजारको पैसा कृषकहरूसम्म पु¥याउने कार्यलाई निरन्तरता दिनका लागि राज्यका तर्फबाट सहजीकरणको आवश्यकता रहेको जिल्ला सहकारी संघ बागलुङका पूर्व अध्यक्ष रामबहादुर जिसीले बताउनुभयो।

संघका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा सम्पन्न पत्रकारसँगको अन्तरक्रियामा स्वागत उपाध्यक्ष रामबहादुर हमाल र सञ्चालन सचिव गोविन्द सापकोटाले गर्नुभएको थियो।

आदर्शसंचारबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung