बागलुङ । श्री कुँडुले माध्यमिक विद्यालयको ६८औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको चौथो दिन अन्तर विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता आयोजना गरिएको हो ।
विसं २०१५ सालमा स्थापना भएको यस विद्यालयले हाम्रो लक्ष्य विद्यार्थीहरुको सुन्दर र उज्ज्वल भविष्य भन्ने मूल नाराका साथ वार्षिकोत्सव एवं अभिभावक दिवस मनाइ रहेको छ । कुँडुले सेवा समाज बागलुङको आयोजना र विद्यालयको व्यवस्थापनमा वक्तृत्व कला प्रतियोगिता आयोजना गरिएको हो ।
सचेत नागरिक निर्माणमा , शिक्षा को भूमिका विषयक वक्तृत्व कला प्रतियोगिता धवीमावि प्रथम, श्रीकृष्ण आधारभूत विद्यालय द्धितीय, त्रिभुवन मावि तृतीय र मालिका मावि, गणेश मावि र युएस एकेडेमीले सान्त्वना स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा २६ जना विद्यार्थीहरु सहभागी रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले विजयी विद्यार्थीलाई नगद र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेल र श्री कुँडुले माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिलाल कँडेलले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम कुँडुले सेवा समाज बागलुङका अध्यक्ष र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षता, कुँडुले सेवा समाज बागलुङका उपाध्यक्ष ताराकान्त आचार्यको स्वागत र शिक्षक कृष्ण शर्माको संचालनमा सम्पन्न भएको थियो ।














































































































































































































