बागलुङ । कालिका भगवती गुठी व्यवस्थापन समितिले बागलुङ नगरपालिका-१ बाङगेचौरस्थित रामरेखा आधारभूत विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना गर्ने भएको छ ।
बुधबार कालिका भगवती गुठीका अध्यक्ष भुपेन्द्र खड्काले दुई लाखको अक्षयकोषको घोषणा गर्नु भएको हो । विद्यालयले आवश्यक प्रकृया पुरा गरेपछि उक्त रकम विद्यालयको खातामा जम्मा गरिने गुठीले जनाएको छ ।
कालिका भगवती गुठीका अध्यक्ष भुपेन्द्र खड्काले उक्त अक्षयकोषबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पठनपाठनलाई निरन्तरता दिन सहयोग पुग्ने बताउनुभयो ।
रामरेखा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्रबहादुर केसीले विद्यालयमा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका विद्यार्थी शैक्षिक हित र विद्यालयको संस्थागत विकासमा कोष स्थापनाले योगदान पुग्ने बताउनुभयो ।
कार्यक्रम कालिका भगवती गुठीका अध्यक्ष भुपेन्द्र खड्काको अध्यक्षता, रामरेखा आधारभूत विद्यालयकी प्रधानाध्यापक सृजना पौडेलको स्वागत र शिक्षक विष्णु राज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस अघि गुठी व्यवस्थापन समितिले बालमन्दिर आधारभूत विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना गरेको थियो ।
समितिले २०८२ माघदेखि २०८३ वैशाखसम्म पार्किङ शुल्कबाट संकलित रकममध्येबाट अक्षय कोष निर्माण गर्न लागेको हो ।
पार्किङ व्यवस्थापनको खर्च कटाएर माघ, फागुन, चैत र वैशाख महिनामा गरी चार लाख रुपैयाँ संकलन भएको गुठीले जनाएको छ ।














































































































































































































