३ श्रावण २०८३, आईतवार

 

पूर्वजनप्रतिनिधि प्रेरणा खड्का महिला हित सहकारीद्वारा सम्मानित

बागलुङ । महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङले संस्थापिका सदस्य तथा पूर्वजनप्रतिनिधि प्रेरणा खड्कालाई सम्मान गरेको छ।

बागलुङ नगरपालिका–३ गुठी निवासी तथा हाल यूकेमा बसोबास गर्दै आएकी खड्कालाई संस्थाप्रति, राजनैतिक र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै एक समारोहबीच दोसल्ला ओढाएर सम्मान गरिएको हो।

सम्मान ग्रहणपछि खड्काले संस्थाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक तथा सहकारी अभियानमा सक्रिय रहने प्रतिबद्धता जनाएका थिए।

खड्का विसं २०५४ सालमा बागलुङ नगरपालिका वडा नं ३ को वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

संस्थाकी अध्यक्ष लिला देवी खड्काले खड्कालाई सम्मान प्रदान गरेकी थिइन्। कार्यक्रममा महिला हित संरक्षण समूहका अध्यक्ष सन्तु खड्का, लेखा सुपरिवेक्षण समितिका संयोजक सावित्री केसी, सचिव पम्फा किसान लगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्मानित व्यक्तित्व प्रेरणा खड्का तथा उहाँका श्रीमान् डोलेन्द्र खड्काले संस्थाले गरेका सामाजिक तथा सहकारी गतिविधिको प्रशंसा गर्दै सम्पूर्णप्रति धन्यवाद व्यक्त गरेका थिए।

कार्यक्रममा महिला हित संरक्षण समूहकी संस्थापक एवं अध्यक्ष सन्तु खड्काले २०५२ सालदेखि संस्थाले गर्दै आएका गतिविधि तथा योगदानबारे जानकारी गराएकी थिइन्।

महिला हित बचत तथा ऋण सहकारीकी अध्यक्ष लिला देवी खड्काले सम्मानित व्यक्तित्व प्रेरणा खड्काको जीवनी तथा उहाँको कार्यकालमा भएका महत्वपूर्ण कार्यबारे चर्चा गर्दै उच्च सम्मान प्रकट गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung