बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा वर्तमान राजनीतिक अवस्था र संविधान संशोधन विषयक अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ।
राजमो पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारीले वर्तमान राजनीतिक अवस्था र संविधान संशोधन विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा त्रिवि प्राध्यापक संघ धवलागिरी बहुमुखी क्याम्पस बागलुङ इकाइका सभापति भक्तिराम न्यौपाने, उच्च अदालत बार एसोसिएसन बागलुङकी अध्यक्षमा अधिवक्ता गीता श्रीष, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा अविरल, नेकपाका केन्द्रीय सदस्य टेकबहादुर केसी आजाद सी, नेकपाका केन्द्रीय सदस्य राजिव घिमिरे, नेकपा एमाले बागलुङ सचिव गणेश थापा, वरिष्ठ अधिवक्ता काजि गाउँले श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वक्ताहरूले देशको वर्तमान राजनीतिक परिस्थितिका साथै संविधान संशोधनका विषयमा आफ्ना धारणा राखेका थिए। उनीहरूले संविधानको कार्यान्वयन, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण, राष्ट्रियता, गणतन्त्र तथा संघीय व्यवस्थाका उपलब्धिहरूको संरक्षणमा जोड दिएका थिए।
वक्ताहरूले संविधान संशोधनका विषयमा व्यापक जनबहस आवश्यक रहेको उल्लेख गर्दै संशोधनका नाममा लोकतान्त्रिक उपलब्धि कमजोर हुने कुनै पनि कदम स्वीकार्य नहुने बताएका थिए। उनीहरूले राजनीतिक दलहरूबीच सहमति, सहकार्य र जिम्मेवार भूमिकाबाट मुलुकका विद्यमान समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता–कार्यकर्ता, बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रम राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाको अध्यक्षता, जिल्ला सचिवालय सदस्य अधिवक्ता लक्ष्मी बाँस्कोटाको स्वागत र सचिव भिमलाल पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

















































































































































































































