बागलुङ। प्रदेश सरकारबाट स्थापित देशकै पहिलो विश्वविद्यालय ‘गण्डकी विश्वविद्यालय’ले आफ्ना शैक्षिक कार्यक्रम र भावी योजनाबारे जानकारी दिन बागलुङका शैक्षिक अगुवाहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ।
विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा दिने उद्देश्यसहित विश्वविद्यालयले जिल्लाका प्रधानाध्यापक, प्राध्यापक तथा विद्यालय सञ्चालकहरूसँग सुझाव संकलन गरेको हो। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा। कृष्णराज अधिकारीले हाल सञ्चालित र आगामी दिनमा थपिने नयाँ कार्यक्रमबारे जानकारी गराउनुभयो।
उहाँका अनुसार हाल विश्वविद्यालयमा स्नातक तहमा बीबीए, बीएएलएलबी, फार्मेसी र बीआईटीको अध्यापन भइरहेको छ। यसका साथै, नेपालमै पहिलो पटक स्नातक तहमा ‘खेलकुद व्यवस्थापन (BSM) र स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स (MIT-AI) कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
उपकुलपति अधिकारीले यसै शैक्षिक सत्रदेखि समयको मागअनुसारका नयाँ विषयहरू थपिने तयारी भइरहेको समेत जानकारी दिनुभयो। जसअन्तर्गत स्नातक एवं स्नातकोत्तर तहमा इन्जिनियरिङ, जलवायु परिवर्तन तथा दिगोपन (Climate Change and Sustainabliity) र स्थानीय नगर योजना तथा विकास (Local Municipal Planning and Development) जस्ता नयाँ कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रममा कानुन तथा व्यवस्थापन संकायका डिन एवं निमित्त रजिस्टार प्रा. हिमराज गिरिले विद्यार्थी र अभिभावकमा विश्वविद्यालयका नवीन कार्यक्रमबारे पर्याप्त जानकारी नपुगेकाले जिल्ला/जिल्लामा पुगेर परामर्श गरिरहेको बताउनुभयो। विद्यार्थीको मागअनुसार शैक्षिक कार्यक्रम तथा अनुसन्धानमूलक काम अघि बढाइरहेको बताउँदै उहाँले विद्यार्थीकेन्द्रित शिक्षण पद्धति, अनुसन्धान र नवप्रवर्तनलाई विश्वविद्यालयले प्राथमिकतामा राखेको प्रस्ट पार्नुभयो।
विसं. २०७६ (सन् २०१९०) मा पोखरामा स्थापना भएको यस विश्वविद्यालयले शैक्षिक उत्कृष्टता र सीपमूलक शिक्षामार्फत प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ। अन्तरक्रियामा सहभागी धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक विप्लव शर्मा, गुराँस विद्यासदनका निसान खड्का, न्यू ओएसिस बोर्डिङका नेत्रलाल न्यौपाने, सनराइज आवासीय विद्यालयका चन्द्रबहादुर क्षेत्रीलगायतले आ–आफ्ना धारणा राखेका थिए।
उनीहरूले बढ्दो विद्यार्थी पलायन ९द्यचबष्ल म्चबष्ल० रोक्न विश्वविद्यालयले अनुसन्धान, नवप्रवर्तन र रोजगारीमूलक शिक्षामा विशेष जोड दिनुपर्ने सुझाव दिएका थिए।













































































































































































































