बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन जेठ २३ गते गलकोट बजारमा हुने भएको छ।
जिल्लाको मध्यभागमा रहेको गलकोट बजारमा अधिवेशन आयोजना गर्ने निर्णय गरिएको रास्वपा बागलुङले जनाएको छ। अधिवेशनको तयारी तीव्र रूपमा अघि बढाइएको पार्टीले जनाएको छ।
यसअघि रास्वपा बागलुङ जिल्ला कार्यसमितिले जेठ २४ गते अधिवेशन गर्ने निर्णय गरेको थियो।
तर, रास्वपा प्रदेश कार्यसमितिको पछिल्लो बैठकले जेठ २३ गतेका लागि अधिवेशनको मिति तय गरेपछि सोही अनुसार कार्यक्रमको तयारी अगाडि बढाइएको रास्वपा बागलुङका सभापति महेन्द्र खड्काले जानकारी दिनुभयो।
अहिलेसम्म आठ वटा पालिकामा अधिवेशन सम्पन्न भएको छ । बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकामा अधिवेशन भएको छैन् ।
ताराखोलामा तदर्थ समिति भएकोले तदर्थ समितिबाटै प्रतिनिधित्व गराउने र बरेङ अधिवेशन आयोजना गर्न प्रकृया अगाडि बढाएको सभापति खड्काले बताउनुभयो ।
उहाँका अनुसार अधिवेशनमार्फत नयाँ जिल्ला नेतृत्व चयन गर्नुका साथै संगठन सुदृढीकरण, आगामी कार्यदिशा निर्धारण तथा पार्टीको जिल्लास्तरीय गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिनेछ।
प्रथम जिल्ला अधिवेशनलाई सफल बनाउन विभिन्न उपसमिति गठन, प्रतिनिधि व्यवस्थापन तथा आवश्यक तयारीका कामहरू अघि बढाइएको रास्वपाले जनाएको छ। अधिवेशनमा जिल्लाभरका पार्टी सदस्य, प्रतिनिधि तथा नेताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।













































































































































































































