२१ जेष्ठ २०८३, बिहीबार

 

छानबिनको दबाबपछि पूर्वभीआईपीहरूको ३ करोड ८५ लाख उपचार खर्च राज्यकोषमा फिर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वभीआईपीहरूको उपचार खर्च सम्बन्धी विषयमा छानबिन अघि बढाएपछि नेकपा ९एमाले० ले राज्यकोषबाट भुक्तानी गरिएको उपचार खर्च रकम फिर्ता गरेको छ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार एमालेले जेठ १ गते पूर्वराष्ट्रपति डा. रामवरण यादव तथा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र झलनाथ खनालको उपचार खर्च बापत राज्यकोषबाट भुक्तानी भएको रकम राष्ट्र बैंकमा जम्मा गरेको हो।

स्रोतका अनुसार तीन पूर्वपदाधिकारीको उपचारमा खर्च भएको कुल ३ करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँमध्ये अधिकांश रकम एमाले पार्टीको खातामार्फत फिर्ता गरिएको छ।

यसमा पूर्वप्रधानमन्त्री ओलीको नाममा २ करोड ३९ लाख ३५ हजार ७१४ रुपैयाँ, पूर्वप्रधानमन्त्री खनालको नाममा ८१ लाख ३९ हजार १५५ रुपैयाँ र पूर्वराष्ट्रपति यादवको नाममा ६५ लाख २५ हजार रुपैयाँ समावेश रहेको बताइएको छ।

यद्यपि पूर्वराष्ट्रपति यादवसँग सम्बन्धित केही रकम भने अझै भुक्तानी हुन बाँकी रहेको स्रोतको भनाइ छ।

प्रचलित कानुनविपरीत विदेशमा गरिएको उपचार खर्च राज्यकोषबाट व्यहोरेको भन्दै परेको उजुरीमाथि अख्तियारले अनुसन्धान गरिरहेको थियो। अनुसन्धानको क्रममा सम्बन्धित रकम राज्यकोषमा फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको बताइएको छ।

अख्तियारका एक उच्चपदस्थ स्रोतका अनुसार उक्त विषयमा अनुसन्धान टुंग्याएर मुद्दा दायर गर्न दबाब रहेकाले रकम फिर्ता गराएर समाधान खोजिएको देखिन्छ।

रकम फिर्ता गरिएपछि एमालेका केही नेताहरूले परराष्ट्र मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको कोष तथा लेखा नियन्त्रण कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रकम जम्मा गरिएको प्रमाणसमेत पेश गरेको स्रोतले जनाएको छ।

उक्त घटनाले राज्यकोषबाट पूर्वपदाधिकारीहरूको उपचार खर्च भुक्तानी गर्ने अभ्यास तथा त्यसको कानुनी वैधताबारे पुनः बहस सुरु भएको छ।

उपचार खर्चका नाममा भीआईपीहरूले राज्यकोषको दोहन गरेको भन्दै अख्तियारमा उजुरी परेको र त्यो उजुरीको सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung