२१ जेष्ठ २०८३, बिहीबार

 

धवलशम्शेर राणाद्वारा नयाँ पार्टी खोल्ने घोषणा, राष्ट्रवादी–राजावादी शक्तिलाई एकताबद्ध गर्ने अभियान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री धवलशम्शेर राणाले राष्ट्रवाद, राजासहितको प्रजातन्त्र र हिन्दु सनातन मूल्य–मान्यतालाई मूल आधार बनाएर नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्।

आफ्नो नेतृत्वमा १८३ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा राप्रपा परित्याग गरेपछि आयोजित भेलालाई सम्बोधन गर्दै राणाले नयाँ राजनीतिक शक्तिमार्फत वैकल्पिक राजनीतिक अभियान अघि बढाउने बताएका हुन्।

उनले राप्रपाभित्र रहेर आफूहरूले बोकेको विचार र लक्ष्य हासिल गर्न कठिन हुने निष्कर्षमा पुगेकाहरूलाई नयाँ दलमा आबद्ध हुन आह्वान गरे।

राप्रपामै रहेर उद्देश्य पूरा गर्न सकिने विश्वास राख्ने कार्यकर्तालाई भने त्यहीँ रहेर काम गर्न आग्रह गरे।

राणाले नयाँ दलमा राप्रपाका असन्तुष्ट कार्यकर्तामात्र नभई राष्ट्रवादी, राजावादी तथा हिन्दुवादी धारका विभिन्न व्यक्ति, संस्था र राजनीतिक शक्तिहरूलाई समेटिने बताए।

उनले दुर्गा प्रसाईंसहित विभिन्न राजावादी तथा राष्ट्रवादी समूहसँग सहकार्यको प्रक्रिया अघि बढिसकेको जानकारी दिए।

“सानो घेराभित्र सीमित भएर होइन, सबै राष्ट्रवादी शक्तिलाई समेट्ने गरी हामी अगाडि बढिरहेका छौँ,” उनले भने।

राणाले नयाँ शक्ति कुनै अभियानका रूपमा नभई औपचारिक राजनीतिक दलका रूपमा स्थापना हुने स्पष्ट पार्दै देश परिवर्तनका लागि बलियो राजनीतिक नेतृत्व आवश्यक रहेको बताए।

उनले आगामी निर्वाचनलाई लक्षित गर्दै देशभरका स्थानीय तहमा इमानदार, कर्मठ र भ्रष्टाचारविरुद्ध उभिन सक्ने व्यक्तिहरूको खोजी तथा उम्मेदवार तयारी प्रक्रिया सुरु गरिने जानकारी दिए।

उनका अनुसार नयाँ दलको नेतृत्व संरचनामा युवा र महिलालाई विशेष प्राथमिकता दिइनेछ। केन्द्रीय समितिमा ६० प्रतिशतभन्दा बढी युवाको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको उनले बताए।

प्रस्तावित दलले राजासहितको प्रजातान्त्रिक व्यवस्था, हिन्दु राष्ट्रको अवधारणा र राष्ट्रियताको एजेन्डालाई प्रमुख रूपमा उठाउने जनाएको छ। साथै बुद्ध धर्मावलम्बी, किराँत समुदायलगायत सबै धर्म, संस्कृति र समुदायप्रति सम्मान कायम राख्दै समावेशी ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

राणाले नेपालभित्र तथा विदेशमा रहेका नेपालीहरूलाई समेत नयाँ राजनीतिक यात्रामा सहभागी हुन आग्रह गर्दै सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण र देश निर्माणलाई दलको प्रमुख लक्ष्य बनाइने बताए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung