२३ जेष्ठ २०८३, शनिबार

 

मालिका सेवा समाजद्वारा ज्येष्ठ नागरिक र उत्कृष्ट विद्यार्थी सम्मान

बागलुङ । मालिका सेवा समाज बागलुङले बागलुङ नगरपालिका–५ मालिका क्षेत्रका ज्येष्ठ नागरिक तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा वडाभित्रका ७ जना ज्येष्ठ नागरिक र विभिन्न विद्यालयका २० जना विद्यार्थीलाई सम्मान गरिएको हो।

समाजले ज्येष्ठ नागरिकले समाजमा पुर्‍याएको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरेको जनाएको छ। साथै, विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले मालिका माध्यमिक विद्यालय, श्रीकृष्ण आधारभूत विद्यालय, मालिका आधारभूत विद्यालय, बालश्रम प्रावि तथा बागलुङ नगरपालिका–६ स्थित लहरेपिपल माध्यमिक विद्यालयका उत्कृष्ट छात्र–छात्राहरूलाई एक वर्षका लागि पुग्ने कापी, कलम तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यसैगरी, लहरेपिपल माविकी छात्रा दीपिका किसानलाई कापी, कलम, झोला तथा विद्यालय पोशाक सहयोग गरिएको समाजले जनाएको छ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य तथा मालिका सेवा समाजका संरक्षक इन्द्रलाल सापकोटा ले समाजलाई समुन्नत बनाउन सबैको साझा संकल्प आवश्यक रहेको बताउनुभयो। उहाँले गाउँमै रोजगारी र श्रमसँग जोडेर बसोबासको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बागलुङ नगरपालिका–५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्य, नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाका सभापति मात्रिका आचार्य तथा लहरेपिपल माविका शिक्षक सन्तोष बोहोरा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

सो अवसरमा मालिका सेवा समाजले आयोजना गरेको मादल बजाउने तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै प्रशिक्षक मनीष कँडेल लाई सम्मान गरिएको थियो।

मालिका सेवा समाजका अध्यक्ष जीवननाथ शर्मा रेग्मी को अध्यक्षता, कोषाध्यक्ष प्रकाश केसी को स्वागत मन्तव्य तथा सचिव खडानन्द सापकोटा को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

समाजले आर्थिक अवस्था कमजोर भएका परिवारलाई स्वास्थ्य उपचार सहयोग, क्यालेन्डर प्रकाशन तथा वितरण, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई सम्मान एवं सहयोग, शैक्षिक सामग्री वितरण, स्ट्रेचर वितरणलगायत सामाजिक सेवामूलक कार्यहरू गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung