२४ जेष्ठ २०८३, आईतवार

 

धवलागिरि क्याम्पसमा आयोजित राष्ट्रिय सङ्गोष्ठीमा ४३ अनुसन्धानपत्र प्रस्तुत

बागलुङ । धवलागिरि बहुमुखी क्याम्पस–अनुसन्धान व्यवस्थापन समिति, बागलुङद्वारा आयोजित ‘उच्च शैक्षिक संस्थाहरूमा अनुसन्धान र नवप्रवर्तनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा विभिन्न विषयका ४३ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिएको छ।

दुई दिनसम्म सञ्चालन भएको सङ्गोष्ठीमा शिक्षा र शासन, मानवशास्त्र तथा संस्कृति, वातावरण र जलवायु परिवर्तन, साहित्य र मानविकी, विज्ञान, कृषि तथा आदिवासी अध्ययनलगायत विविध विषयमा गरिएका अध्ययन तथा अनुसन्धानका निष्कर्ष प्रस्तुत गरिएका थिए।

विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा सम्पन्न सङ्गोष्ठीमा विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्राडा भीमप्रसाद सुवेदी, त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा. डा. खड्क केसी तथा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले प्रमुख वक्ताका रूपमा ‘की–नोट स्पिच’ प्रस्तुत गर्नुभएको थियो।

सङ्गोष्ठीमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय तथा गण्डकी विश्वविद्यालयअन्तर्गतका प्राध्यापक, अनुसन्धानकर्मी, शिक्षक, कर्मचारी र शोधार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

क्याम्पस प्रमुख डा. सुदर्शन सिलवालले उच्च शैक्षिक संस्थाहरूमा अनुसन्धान र नवप्रवर्तनको संस्कृतिलाई प्रवर्द्धन गर्न तथा अनुसन्धानमा संलग्न व्यक्तिहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सङ्गोष्ठी आयोजना गरिएको बताउनुभयो।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापाले क्याम्पसमा प्राज्ञिक वातावरण सुदृढ बनाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै कार्यपत्र प्रस्तुतिसँगै अनुसन्धान र नवप्रवर्तनको भूमिकाबारे गहन छलफल भएको जानकारी दिनुभयो।

सङ्गोष्ठीमा प्रस्तुत अनुसन्धानपत्रहरूले उजागर गरेका ज्ञान, अनुभव र निष्कर्षलाई मुलुकको समग्र शिक्षा प्रणालीसँग संस्थागत रूपमा जोड्नुपर्ने आवश्यकता सहभागीहरूले औंल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung