बागलुङ । बागलुङ नगरपालिका–२ स्थित फ्युचर ब्राइटर आवासीय माध्यमिक विद्यालयमा चेतनशील बाल क्लबको आयोजनामा बालमैत्री कार्यक्रमअन्तर्गत अन्तरविद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ।
“राष्ट्रप्रेम, कला, संस्कृति र एकता हाम्रो पहिचान” भन्ने नारासहित आयोजित प्रतियोगितामा युएस एकेडेमी प्रथम, न्यू एभरेष्ट एकेडेमी द्वितीय तथा प्रिसियस एकेडेमी तृतीय भएका छन्।
विजेता टोलीले क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। सहभागी सबै विद्यालयलाई प्रमाणपत्र समेत प्रदान गरिएको आयोजकले जनाएको छ।
बालबालिकामा कला, संस्कृति तथा राष्ट्रिय भावनाको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा बागलुङ नगरपालिका वडा नं। १, २, ३ र ४ का १५ विद्यालयहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा विद्यार्थीहरूले नेपाली कला, संस्कृति, राष्ट्रियता तथा सामाजिक सन्देश झल्किने विविध नृत्य प्रस्तुत गरेका थिए। प्रस्तुत नृत्यहरूले दर्शकको मन जित्नुका साथै बालबालिकाको सिर्जनशीलता र प्रतिभालाई उजागर गरेका थिए।
कार्यक्रममा बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष सुरज बोसेल, बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, कालिका भगवती गुठीका अध्यक्ष भूपेन्द्र खड्का, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’ तथा बालमन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक उमाकान्त सापकोटालगायतले यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा विकास र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताएका थिए।
चेतनशील बाल क्लबका अध्यक्ष चिराग रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नवीन शर्मा चोलागाईं र क्लबकी सदस्य दिव्यानी अधिकारीले गरेका थिए।
प्रतियोगिताले बालबालिकामा कला र संस्कृतिप्रतिको आकर्षण बढाउनुका साथै अन्तरविद्यालय सम्बन्ध विस्तार गर्न समेत सहयोग पुगेको सहभागीहरूले बताएका छन्।

तस्बिर:नारायण रिजाल







































































































































































































