२४ जेष्ठ २०८३, आईतवार

 

एमाले बागलुङ बैठकको निष्कर्ष : आत्मसमीक्षा गरेर जनतामाझ जान एमाले नेताहरूको जोड

बागलुङ । नेकपा एमाले बागलुङका नेता तथा कार्यकर्ताले आत्मसमिक्षाको विकल्पन नरहेको बताएकाछन् ।

नेकपा एमाले बागलुङले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समिक्षा गर्दै आत्मसमिक्षा गरेर जनतामाझमा जनुपर्ने औलाएका छन् ।

एमाले बागलुङको जिल्ला स्तरीय बैठकमा पार्टी नेतृत्व, कार्यशैली र संगठन सञ्चालनको विषयलाई लिएर व्यापक बहस भएको एक नेताले बताए । बैठकमा बोल्ने अधिकांश नेता तथा कार्यकर्ताहरूले आत्मसमीक्षा, संगठनात्मक रूपान्तरण र जनतासँगको सम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड दिएका हुन् ।

जिल्ला कमिटी सचिवालय सदस्य, जिल्ला कमिटी सदस्य तथा पालिका कमिटी अध्यक्षहरूले पार्टीको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेतृत्व तहबाटै सुधारको प्रक्रिया सुरु गर्नुपर्ने धारणा राखेका थिए ।

सहभागीहरूले पार्टीभित्र देखिएका समस्या समाधानका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै जनतामाझ विश्वास पुनः स्थापित गर्न नेतृत्वले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका छन् ।

बैठकमा “मुल धमिलो भएपछि धारो सफा गरेर मात्र हुँदैन” भन्ने निष्कर्ष प्रस्तुत गर्दै सहभागीहरूले पार्टीको संगठनात्मक संरचना र कार्यशैलीमा व्यापक सुधारको आवश्यकता औंल्याएका थिए ।

पालिका र वडा तहसम्म संगठन कमजोर बन्दै गएको भन्दै जिल्ला कमिटीको भूमिकामाथि समेत प्रश्न उठाइएको थियो। नेतृत्वमा नयाँ सोच र शैलीको आवश्यकता रहेको तथा जनताबीच प्रभावकारी रूपमा पुग्न पार्टीले रूपान्तरणको बाटो अपनाउनुपर्ने सुझाव बैठकमा आएको छ ।

पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारीले पार्टीको तत्कालीन प्राथमिकता सदस्यता नवीकरण रहेको बताउँदै सम्पूर्ण नेता–कार्यकर्तालाई अभियानमा सक्रिय हुन निर्देशन दिनुभयो ।

बैठकमा उठेका विषयहरू वैचारिक, संगठनात्मक तथा पार्टी शुद्धीकरणसँग सम्बन्धित रहेको उल्लेख गर्दै उहाँले पार्टी पुनर्जागरणको आवश्यकतामा जोड दिनुभएको सहभागीहरूले बताएका छन् ।

केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मनकुमारी केसी जिसी र गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले पार्टी केन्द्रको निर्देशनअनुसार सबै कमिटीका पदाधिकारी र सदस्यहरू आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय हुनुपर्ने बताएका थिए ।

बैठकमा सहभागी अधिकांश नेताहरूले संगठन पुनर्जागरण, विधि–विधानको प्रभावकारी कार्यान्वयन, गुटबन्दीको अन्त्य तथा नेतृत्वको आत्मसमीक्षामार्फत एमालेलाई पुनः सशक्त बनाउनुपर्ने धारणा राखेका थिए। आगामी दिनमा पार्टीको अवस्था, चुनावी परिणाम र संगठनात्मक रणनीतिका विषयमा थप छलफल गरिने जनाइएको छ ।

बैठकले असार मसान्तभित्र सदस्यता नवीकरण सम्पन्न गर्ने, ‘मिसन स्थानीय तह’ अभियानलाई पार्टी जागरण अभियानका रूपमा अगाडि बढाउने लगायतका निर्णय गरेको कार्यवाहक अध्यक्ष विष्णु भुसालले जानकारी दिनुभयो ।

बैठक कार्यवाहक अध्यक्ष विष्णु भुसालको अध्यक्षता, सचिव गणेशबहादुर थापा मगरको सञ्चालन तथा उपसचिव धनबहादुर परियारको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung