बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयको आयोजनामा आधारभूत तहका शिक्षकहरूका लागि “पाठ्यक्रम, शिक्षक निर्देशिका तथा निरन्तर विद्यार्थी मूल्याङ्कन एवं शिक्षण–सिकाइमा सूचना प्रविधिको प्रयोग” विषयक कार्यशाला तालिम सम्पन्न भएको छ।
तालिममा प्रशिक्षक ओमकार पौडेल र सन्तोष रिजालले सहजीकरण गर्दै पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, शिक्षक निर्देशिकाको प्रयोग, निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली तथा शिक्षण–सिकाइ प्रक्रियामा सूचना प्रविधिको उपयोगका विविध पक्षबारे प्रशिक्षण दिनुभएको थियो।
उहाँहरूले सूचना प्रविधिको प्रयोगले शिक्षणलाई थप प्रभावकारी, आकर्षक र विद्यार्थीमैत्री बनाउन सहयोग पुग्ने तथा सिकाइ उपलब्धि वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका शिक्षा शाखाका शिक्षा अधिकृत दीपक शर्मा, प्रशिक्षक ओमकार पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठ तथा सदस्य एकनाथ शर्मा पौडेलले मन्तव्य व्यक्त गर्दै शैक्षिक सुधारका लागि शिक्षकको क्षमता अभिवृद्धि आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक मुकुन्द प्रसाद शर्माले गर्नुभएको थियो।
तालिममा विद्यामन्दिर माध्यमिक विद्यालय, धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालय र उपल्लाचौर आधारभूत विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई कक्षाकोठामा प्रयोग गरी शिक्षणलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।









































































































































































































