२५ जेष्ठ २०८३, सोमबार

 

सरकारी विज्ञापन नीति विरुद्ध संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई पठाइयो

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने सरकारी निर्णय फिर्ता लिन माग गर्दै संकलन गरेको हस्ताक्षर सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको आह्वानमा सञ्चालन गरिएको देशव्यापी दबाबमूलक कार्यक्रमअन्तर्गत संकलित हस्ताक्षर महासंघ बागलुङका अध्यक्ष राम थापा नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य लाई बुझाएको हो।

हस्ताक्षर बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले महासंघले पेश गरेको ज्ञापन तथा हस्ताक्षर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने जानकारी दिए।

महासंघले सरकारी विज्ञापन वितरणमा सबै सञ्चारमाध्यमको समान अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै सरकारी सञ्चारमाध्यमलाई मात्र विज्ञापन दिने निर्णय विभेदकारी रहेको जनाएको छ। महासंघका अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि असर पुग्ने, सूचना प्रवाहमा नियन्त्रण हुने तथा सरकारी खर्च कटौतीको बहानामा निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने नीति स्वीकार्य हुन सक्दैन।

महासंघले संघ, प्रदेश र स्थानीय तहका सबै निकायबाट वितरण हुने सरकारी विज्ञापनमा समान पहुँच र अवसर सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। साथै सरकारी सञ्चारमाध्यमलाई मात्र विज्ञापन दिने निर्णय तत्काल फिर्ता लिनुपर्ने महासंघ बागलुङका कोषाध्यक्ष सुवाश गौतमले बताउनुभयो ।

देशभर सञ्चालन भइरहेको हस्ताक्षर संकलन अभियानमार्फत पत्रकार महासंघले सरकारी विज्ञापनसम्बन्धी निर्णय पुनर्विचार गर्न सरकारलाई दबाब दिइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung