२६ जेष्ठ २०८३, मंगलवार

 

पूर्वअर्थमन्त्री र अर्थविद्को निष्कर्ष : ‘बजेट आकर्षक देखिए पनि आधार कमजोर’

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि सार्वजनिक गरेको बजेटमाथि पूर्व अर्थमन्त्री र अर्थविद्हरुले गम्भीर प्रश्न उठाएका छन्।

नेपाल उद्योग व्यापार महासंघले मंगलबार आयोजना गरेको बजेट समीक्षा कार्यक्रममा सहभागी वक्ताहरूले बजेट महत्वाकांक्षी भए पनि यसको कार्यान्वयनका लागि आवश्यक स्रोत र आधार कमजोर रहेको टिप्पणी गरेका हुन्।

कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटमा राखिएका राजस्व संकलन तथा आर्थिक वृद्धिका लक्ष्यहरू यथार्थपरक नभएको बताए। उनले स्रोतको सुनिश्चितता कमजोर रहेको उल्लेख गर्दै लक्ष्य हासिल गर्न नसके बजेटको आकार नै घटाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।

पूर्व अर्थमन्त्री वर्षमान पुनले बजेट सुन्दा आकर्षक लागे पनि व्यवहारमा नयाँपन र स्पष्टता नभएको टिप्पणी गरे।

दुई तिहाइ नजिकको राजनीतिक समर्थन प्राप्त सरकारले ठूलो अपेक्षाबीच बजेट ल्याए पनि यसले विगतकै निरन्तरता मात्रै बोकेको उनको भनाइ थियो।

बजेटले तल्लो वर्गलाई पर्याप्त सम्बोधन नगरेको, मध्यम वर्गलाई आंशिक राहत दिएको र उच्च वर्गलाई बढी लाभ पुगेको उनको आरोप छ।

त्यस्तै पूर्व अर्थमन्त्री डा। प्रकाशशरण महतले बजेट सन्तुलित नभएको बताउँदै स्रोत संकलनको आधार कमजोर हुँदा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण हुने बताए। उनले आन्तरिक ऋणमा बढ्दो निर्भरताले अर्थतन्त्रमा थप दबाब सिर्जना गर्न सक्ने धारणा राखे।

अर्थविद् डा। चन्द्रमणि अधिकारीले बजेटको आकार अत्यधिक ठूलो भएकाले चालु आर्थिक वर्षको मध्यतिर संशोधन हुन सक्ने अनुमान व्यक्त गरे। उनले करका दर घटाएर औपचारिक अर्थतन्त्रलाई बलियो बनाउने, रोजगारी सिर्जना गर्ने तथा उत्पादन वृद्धि गर्ने स्पष्ट रणनीति आवश्यक रहेको बताए।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। गोविन्द पोखरेलले बजेटमा कुनै उल्लेखनीय नयाँ पूर्वाधार आयोजना वा कार्यक्रम नदेखिएको टिप्पणी गरे।

बजेट विगतका संरचनाभन्दा खासै फरक नभएको भन्दै उनले निजी क्षेत्रलाई खुसी पार्ने प्रयासमा बढी केन्द्रित भएको बताए।

कार्यक्रमको अध्यक्षता गर्दै नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमनारायण पराजुलीले बजेटबाट अर्थतन्त्र सुधार, लगानी विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा निजी क्षेत्रको मनोबल बढ्ने अपेक्षा गरिए पनि घोषणा र कार्यान्वयनबीच ठूलो अन्तर देखिएको बताए।

उनले साना तथा मझौला उद्योगी–व्यवसायी, उत्पादनमुखी उद्योग तथा निर्यात प्रवर्द्धनका लागि अपेक्षित कार्यक्रम बजेटमा नसमेटिएको गुनासो गरे।

देशभर करिब १९ लाखभन्दा बढी साना तथा मझौला उद्योगी–व्यवसायीको प्रतिनिधित्व गर्ने महासंघका १५० भन्दा बढी शाखा सञ्जाल रहेका छन्। कार्यक्रम महासंघका अध्यक्ष खिमनारायण पराजुलीको अध्यक्षता तथा महासचिव सूर्य थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

 

.

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung