२६ जेष्ठ २०८३, मंगलवार

 

तित्याङ माविका जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङस्थित तित्याङ माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

दुर्गादत्त आचार्य स्मृति अक्षयकोषको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री, विद्यालय झोला लगायत विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको हो। स्वर्गीय दुर्गादत्त आचार्यको स्मृतिमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीको अध्ययनमा थप प्रेरणा र सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै बागलुङ नगरपालिका–९ का वडा अध्यक्ष राजु थापाले शैक्षिक सामग्री वितरणबाट विद्यार्थीको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो। उहाँले शिक्षाको विकास र गुणस्तर अभिवृद्धिका लागि सबै क्षेत्रको सहयोग, सहकार्य र सद्भाव आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष मनबहादुर थापा, विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद उपाध्याय तथा अक्षयकोषका सदस्य दयाराम रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कोषका सदस्य चन्द्रराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शिक्षक दिनेश अधिकारीले गर्नुभएको थियो भने सञ्चालन टिका थापाले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung