बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित दुईदिने “योजना तर्जुमा तथा वित्तीय विश्लेषण तालिम” सुरु भएको छ। सहकारी विज्ञ केशव पोखरेलले दीप प्रज्वलन गरी तालिमको उद्घाटन गर्नुभएको हो।
संस्थाको “घर–घरमा पुग्ने लक्ष्य स् सुखी, समृद्ध र प्रविधिमैत्री सदस्य” अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित तालिममा संस्थाको समग्र वित्तीय अवस्था, भावी रणनीति तथा आगामी लक्ष्य निर्धारणका विषयमा विस्तृत छलफल गरिएको छ।
कार्यक्रममा सहकारी विज्ञ पोखरेलले प्रस्तुत गर्नुभएको तथ्याङ्क संकलन प्रतिवेदनका आधारमा संस्थाको बचत, ऋण, शेयर पूँजी, सदस्यता विस्तार, निष्क्रिय सदस्यको सक्रियता लगायत वित्तीय तथा संस्थागत सूचकहरूको समीक्षा गर्दै आगामी कार्यदिशाबारे चर्चा गर्नुभएको थियो।


तालिममा संस्थाका सातवटै इलाका कार्यालयका कर्मचारी, सञ्चालक समिति, सल्लाहकार समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवं संयोजकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले बदलिँदो सहकारी परिवेशअनुसार नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै कर्मचारीको केपीआई (मुख्य कार्यसम्पादन सूचक) आधारित मूल्याङ्कन, प्रभावकारी समन्वय तथा शाखा र प्रधान कार्यालयबीच सुदृढ सहकार्य आवश्यक रहेको बताउनुभयो।
उपाध्यक्ष सीतादेवी सापकोटा कँडेलले संस्थाको ऋण पोर्टफोलियोको अवस्था, नियमित अनुगमन तथा प्रभावकारी असुली व्यवस्थापनमा विशेष जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले संस्थाको वर्तमान वित्तीय अवस्था, उपलब्धि तथा चुनौतीबारे जानकारी गराउनुभएको थियो।
त्यसपछि सहकारी विज्ञ केशव पोखरेलले बचत तथा ऋण उत्पादनहरूको पुनरावलोकन, नवीकरण र आवश्यकताअनुसार पुनःसंरचना गर्नुपर्नेमा जोड दिँदै सदस्यमैत्री कार्यक्रममार्फत सदस्यको आवश्यकताअनुसार सेवा विस्तार गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले निर्धारित लक्ष्य प्राप्तिका लागि कर्मचारी, व्यवस्थापन र सञ्चालकबीच साझा जिम्मेवारी तथा परिणाममुखी कार्यसंस्कृतिको विकास आवश्यक रहेको बताउनुभयो। साथै सञ्चालकहरूले संस्थाको अवस्था, योजना र लक्ष्यबारे नियमित जानकारी लिई आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो।
तालिमले आगामी आर्थिक वर्षका लागि संस्थाको योजना निर्माण, वित्तीय लक्ष्य निर्धारण तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।








































































































































































































