मार्क्सवाद पुँजीवादलाई मसिनो गरी पर्गेल्नका लागि उपयोग हुने सबैभन्दा शक्तिशाली बौद्धिक विधि हो । शोषण, सङ्कट, वर्गीय संरचना, वर्गीय द्वन्द्व एवम् सामाजिक प्रणाली विकासको ऐतिहासिक स्वरूप ठम्याउनका लागि मार्क्सवाद बराबर अर्को सिद्धान्त अझै बनेको छैन ।
मार्क्सवादलाई केही मानिसहरू असफल भइसकेको पनि भन्ने गर्छन् । कोही कोही गलत तरिकाले बुझ्ने गर्छन् । क्रान्तिको यान्त्रिक सिद्धान्त वा समाजवाद निर्माणको ब्लुप्रिन्टुको रूपमा मार्क्सवादलाई लिने मामलामा भने अक्सर त्यसरी गलत बुझ्ने वा असफल भएको ठान्ने गरिन्छ ।
मार्क्सवादबारे यस्तो गलत बुझाइले २ प्रकारका त्रुटिपूर्ण प्रतिक्रिया उत्पन्न गर्ने गरेको छ । एकातर्फ आलोचकहरू मार्क्सवादलाई इतिहासबारे प्रस्ट भविष्यवाणी गर्न नसकेको वा समाजवादको सार्वभौम विधि प्रस्तुत गर्न नसकेको निष्कर्ष निकाल्छन् ।
त्यसैगरी अर्कोतर्फ कट्टरवादीहरू भने जसरी भए पनि समाजवाद निर्माणको विधि मार्क्सबाटै निकाल्ने जिद्दी गर्छन् । उनीहरू मार्क्सवादलाई कुनै लचिलोपना नभएको कठोर सिद्धान्तको रूपमा अघि सार्दै त्यसैबाट भविष्यका घटनाहरूको ठ्याक्कै अनुमान गर्ने तरिका निकाल्न जोड गर्छन् ।
मार्क्सबारे बुझाइका यी दुइटै तरिका एउटै खाले गल्तीको जगमा उभिएका छन् । दुइटै शैलीमा मार्क्सको विधिको प्रयोग भएको छैन ।
मार्क्सवादले कहिल्यै राजनीति विस्थापित गर्ने कुरा गरेको थिएन । राजनीतिक सङ्घर्ष कस्तो जमिनमा चल्छ भन्ने प्रस्ट पार्न मात्रै खोजेको थियो ।
१ मार्क्सवाद कुनै बनिबनाउ ब्लुप्रिन्टु होइन
मार्क्सवाद सोझै प्रयोग गर्न मिल्ने खालको बनिबनाउ ब्लुप्रिन्ट होइन । न त सिधै गएर मिसिन सकिने वा सब्स्क्राइब गर्न सकिने कुनै प्रस्ट पहिचान नै हो ।
सैद्धान्तिक अध्ययन र लेखनको क्रममा आफू कुनै व्यवस्था वा पूरै कार्यनीतिको रचना गर्ने खालको आर्किटेक्चरल नभएर विश्लेषणात्मक काममा लागेको बारे मार्क्स प्रस्ट थिए । उनले समाजवादको डिजाइन तयार गर्न खोजेकै थिएनन् । पुँजीवादलाई ऐतिहासिक रूपमा विशिष्ट उत्पादन सम्बन्धको रूपमा बुझ्न र त्यसको आलोचनात्मक अध्ययन गर्न खोजेका थिए ।
आफ्नो प्रसिद्ध पुस्तक पुँजीको दोस्रो जर्मन संस्करणमा उनले लेखेका छन्, म अमूर्त धारणाुहरूबाट आफ्नो विश्लेषणको सुरु गर्दिनँ । मूल्यको धारणाबाट पनि गर्ने कुरा भएन । त्यसो हुँदा मैले कुनै अवधारणालाई टुक्रा पारेर हेर्नुपर्ने बाध्यता पनि पर्दैन । (मार्क्स,सन १९७३,पुँजी भाग १)
पुँजी पुस्तकको अध्ययन गर्दा धेरैले यो हरफलाई राम्रोसँग ख्याल नगरेको पाइन्छ । त्यसरी अनदेखा गर्नुको परिणाम भने सामान्य नभएर निर्णायकस्तरको देखा पर्ने गरेको छ । मार्क्स वास्तविकतालाई अमूर्त सिद्धान्तहरूको माध्यमबाट व्याख्या र विश्लेषण गर्ने तरिका अपनाउँदैनन् ।
त्यसको विपरीत वस्तु विनिमय, ज्यालादारी श्रम,पुँजीको सञ्चय लगायत ठोस सामाजिक सम्बन्धहरूबाट मूल्य, अतिरिक्त मूल्य तथा विचारधारा जस्ता सैद्धान्तिक अवधारणातर्फ अघि बढ्छन् । उनी त्यत्तिमै रोकिँदैनन् । ती सैद्धान्तिक अवधारणाहरूबाट फेरि ठोस सन्दर्भमा फर्कन्छन् ।
मार्क्सवादबाट कुनै एउटा निश्चित राजनीतिक कार्यक्रम निकाल्ने प्रयास गलत हो । त्यसले मार्क्सवादको समग्र आशय नै गलत तरिकाले बुझ्ने जोखिममा पुर्याइदिन्छ । मार्क्सवाद कुनै निश्चित निर्देशनहरूको थुप्रो होइन ।
सुरु सुरुका मार्क्सवादीहरूले सिद्धान्तको दुरुपयोग गर्न थाले पछि एंगेल्सले मार्क्सवादबारे केही सन्दर्भ दोहोर्याउनुपर्ने आवश्यकता बोध गरेका थिए ।
उनले सन १८९०मा कोनराड स्किम्टलाई लेखेको चिठीमा भनेका छन्, मान्छेले आफ्नो इतिहास आफै बनाउँछन्, तर इतिहास बनाउँदै गर्दा उनीहरू बाँचेको परिवेशले ठुलो प्रभाव पार्छ…आर्थिक तत्त्व त्यसरी प्रभाव पार्ने एउटै मात्र चीज होइन ।
एंगेल्सको यस्तो स्पष्टीकरणको ठुलो महत्त्व छ । भौतिकवादले राजनीति, संस्कृति, आकस्मिकता वा मानवीय भूमिका निषेध गर्दैन । न त त्यसको न्युनिकरणनै गर्छ । भौतिकवादले त अझ ती तत्त्वहरू भौतिक परिस्थितिले तोकेको सीमाभित्र रहेर सक्रिय हुन्छन् भन्नेबारे व्याख्या पो गर्छ । त्यसैगरी मार्क्सवादले हामीलाई पुँजीवादी सामाजिक बनोटले सिर्जना गरेका संरचनात्मक अवरोध तथा अवसरहरूबारे बुझ्न मद्दत गर्छ ।
२ अरू सिद्धान्तको तुलनामा मार्क्सवादले के कुरा राम्रोसँग व्याख्या गर्न सक्छ ?
मार्क्सवादको सबैभन्दा ठुलो विशेषता यसको विश्लेषणात्मक क्षमतामा छ । यसले हामीलाई शोषणको चरित्र र स्वरूपबारे स्पष्ट रूपमा बुझाउन सक्छ । कसरी सोझै जबरजस्ती नगरी घुमाउरो तरिकाले शोषण हुन्छ भन्ने देखाउन सक्छ ।
कानुनी रूपमा समानताको व्यवस्था हुँदाहुँदै पनि कसरी यथार्थमा वर्गीय वर्चस्व अस्तित्वमा रहेको हुन्छ भन्ने देखाउँछ । पुँजीवादले आफैभित्र विद्यमान अनेक कारणले कसरी सङ्कटको सिर्जना गर्छ भन्ने बुझाउँछ ।
मार्क्सले राजनीतिक अर्थशास्त्रको आलोचनामा योगदानको भूमिकाुमा आधारभूत रूपमै असाध्यै महत्त्वपूर्ण एउटा हरफ लेखेका छन् । जुन आज पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसमा भनिएको छ, मान्छेको चेतनाले उसको अस्तित्व र अवस्था निर्धारण गर्दैन ।
बरु त्यसको उल्टो मान्छे बाँचेको सामाजिक अवस्थाले उसको चेतना निर्धारण गर्ने हो ।(मार्क्स, सन् १८५९, अ कन्ट्रिबुसन टु द कृटिक अफ पोलिटिकल इकोनोमीको भूमिका)
मार्क्सको यो हरफलाई बुझ्ने क्रममा मान्छेको भूमिकाको अवमूल्यन गर्नु या त लापरबाही हुन्छ या कपट हुन जान्छ । मार्क्स उदारवादीहरूले जस्तो विचार भनेको भौतिक परिस्थितिभन्दा नितान्त फरक हो भन्ने काल्पनिक कुरा खारेज गर्छन् ।
मार्क्सवादले कसरी वर्चस्वशाली विचारहरू वर्चस्वशाली वर्गको स्वार्थसँग मिल्छन् भन्ने व्याख्या गर्छ । त्यसरी मिल्नुको पछाडि कसैको चलाखी वा हेराफेरी नभएर सामाजिक सम्बन्धको भूमिका हुने कुरा गर्छन् । तीनै सामाजिक सम्बन्धले बुझाई, प्रोत्साहन संरचनाहरू एवम् कल्पना गर्न समेत गाह्रो हुनेसम्मका सम्भावनाहरूको दायरालाई तय गर्नेबारे विस्तारमा वर्णन गर्छन् ।
यो सन्दर्भलाई थप प्रस्ट पार्न हामी पुँजीको एउटा उद्धरण लिन सक्छौँ । जसमा भनिएको छ, औद्योगिक रूपमा धेरै विकास भएको देशले कम विकसित देशलाई उसको भविष्यको तस्बिर मात्रै देखाउन सक्छ ।(मार्क्स, सन् १८६७, पुँजी, भाग १, अध्याय २५)
मार्क्सलाई प्रायः नियतिवादको आरोप लाग्ने गरेको छ । तर खासमा मार्क्स आफ्नो कृति पुँजीुमा समाजवादको भविष्यवाणी गरेका छैनन् । उनले त पुँजीवादको विकासको विश्लेषण गरेका हुन् ।
उनको दाबी अनुभवजन्य एवम् सीमित पनि छ । उनका अनुसार पुँजीवादमा पनि विकासका प्रवृत्तिहरू अनिवार्य रूपमा लागू हुन्छन् । इतिहासले उनको दाबीलाई भव्यतापूर्वक साबित गरेको छ । तर पुँजीवादलाई कस्तो प्रणालीले विस्थापन गर्छ भन्नेबारे मार्क्सको अवधारणालाई हामीले कुनै स्वचालित, अपरिहार्य एवम् पूर्वनिर्धारित अवस्थाको रूपमा बुझ्नु हुँदैन ।
३ मार्क्सले किन समाजवादको डिजाइनु गर्न चाहेनन् त ?
मार्क्सले समाजवादबारे विस्तृत दृष्टिकोण नदिएर टार्न खोजेको व्याख्या पनि यदाकदा सुन्न पाइन्छ । तर यथार्थ त्यस्तो होइन । खासमा समाजवादको पूर्ण व्याख्या नगरेर मार्क्सले सैद्धान्तिक रूपमा काल्पनिक जगत (युटोपिया) लाई अस्वीकृत गरेका हुन् ।
मार्क्स-एंगेल्सले एक ठाउँमा लेखेका छन्, हाम्रा लागी साम्यवाद भनेको निर्माण गरिने व्यवस्था होइन । वास्तविकताले आफूलाई समायोजन गर्नुपर्ने आदर्श अवस्था पनि होइन । हामी साम्यवादलाई यस्तो गतिशील अवस्था मान्छौँ, जसले वर्तमान अवस्थालाई खारेज गर्छु (मार्क्स र एंगेल्स, सन् १८४६, जर्मन विचारधारा)
यसो भन्दै गर्दा मार्क्स र एंगेल्स कुनै सामान्य बयानबाजी गर्दै छैनन् । बरु आफ्नो विश्लेषण पद्धति स्पष्ट पार्दछन् । साम्यवादलाई कुनै स्थिर मानकको रूपमा नभएर ऐतिहासिक एवम् सापेक्षित रूपमा परिभाषित गर्दैछन् । जसको उदय वर्ग सङ्घर्षबाट हुन्छ ।
त्यस समयमा विद्यमान परिस्थितिले यसको स्वरूप तय गर्छ । संस्थागत विरासत तथा भौतिक परिस्थितिले यसमा निर्णायक भूमिका खेल्छन् । यसको स्वरूप ठ्याक्कै यस्तै हुन्छ भन्नु या त पुरा अनुमान हुन्छ नत्र आदर्शवादी काम हुन जान्छ ।
सन १८६८मा कुगेल्मानलाई लेखेको पत्रमा मार्क्सले आफ्नो बुझाइलाई थप सशक्त बनाएको भेटिन्छ, वास्तविक आन्दोलनका प्रत्येक पाइलाहरू दर्जनौँ कार्यक्रमहरूको तुलनामा धेरै महत्त्वपूर्ण हुन्छन् । (मार्क्स, सन् १८६८, लुड्विग कुगेल्मानलाई पत्र)
यसो भन्दै गर्दा उनी सिद्धान्त वा कार्यक्रम विरोधी भएका होइनन् । बरु कुनै बनिबनाउ सूत्रको विरोधी भएका हुन् । पक्कै पनि सिद्धान्तले प्रवृत्ति,सीमा तथा अन्तर्विरोधबारे बुझाउन त सक्छन् तर जटिल राजनीतिक सङ्घर्ष सञ्चालन गर्न चाहिने व्यवहारिक बुद्धिमत्ताको ठाउँ लिन भने सक्दैनन् ।
४ क्रान्तिलाई आर्थिक विघटनमा मात्रै सीमित गरेर हेर्न मिल्दैन
आर्थिक सङ्कटले आफै क्रान्तिकारी चेतना सिर्जना गर्छ भन्ने विश्वास मार्क्सवादमा बारम्बार देखिने गरेको मुख्य विकृति मध्ये एक हो । मार्क्स आफै भने यसलाई ठाडै खारेज गर्छन् । आफ्नो प्रसिद्ध निबन्ध लुई बोनापार्टको अठारौँ ब्रुमेरुमा उनले लेखेका छन्, मान्छेले आफ्नो इतिहास आफै बनाउँछ । तर इतिहास बनाउँदा उसले आफूले चाहे जसरी भने बनाउन सक्दैन…(मार्क्स, सन् १८५२, लुई बोनापार्टको अठारौँ ब्रुमेर)
उनको यो उद्धरण आजपर्यन्त असाध्यै धेरै पटक उल्लेख गरेको पाइन्छ । तर यसलाई गम्भीरतासाथ बुझ्ने प्रयास भने ज्यादै कम मात्रै गरिएको छ ।
मार्क्स यो लेखाई मार्फत सीमित पात्रता (कन्स्ट्रेन्ड एजेन्सी)को सिद्धान्तको व्याख्या गर्दैछन् जसले भन्छ- मान्छे पक्कै पनि जानाजान आफ्ना गतिविधि गर्छ तर त्यसो गर्दैगर्दा गतिविधि गरिने आफ्नो परिवेश वा अवस्था भने छान्न पाउँदैन । सङ्कटले मुक्ति नै ल्याउँछ भन्ने कुनै निश्चित छैन । सङ्कटले अझै कठोर प्रतिक्रिया, विभाजन,अपमान तथा अधिनायकवादी समाधान पनि ल्याउन सक्छ ।
सङ्कटको परिणामबारे एंगेल्सले भनेका छन्, यस्तो अवस्था देखा पर्छ जुन कसैले चाहेको पनि हुँदैन ( एंगेल्स, सन् १८७६, जोसेफ ब्लखलाई पत्र)
इतिहासको मतलब फटाफट आर्थिक नियमहरु लागु हुने भनेको होइन । भौतिक परिस्थितिहरूको सीमाभित्र रहेका सामाजिक शक्तिहरू बिचको द्वन्द्वले निकाल्ने अनपेक्षित परिणाम हो । अपरिहार्यता, निश्चितता वा ऐतिहासिक सुनिश्चितताको वाचा गर्ने कुनै पनि खालको मार्क्सवाद खासमा भौतिकवादीनै रहँदैन ।
५ कट्टरवादको विपक्षमास् मार्क्सवाद र निरपेक्ष सत्यको खारेजी
मार्क्सको निधन लगत्तैबाट मार्क्सवादलाई सत्यको बन्द प्रणालीको रूपमा व्याख्या गर्ने गलत प्रवृत्ति निरन्तर दोहोरिइरहेको देखिन्छ । एंगेल्सले यस्तो प्रवृत्तिबारे खुलेर सचेत गराएका छन्, निरपेक्ष सत्यको जगमा उभिएका सबै सिद्धान्तहरू अनिवार्यरुपमा जडसुत्रीय हुन्छन (एंगेल्स, सन् १८७८, ड्युहरिङ मतखन्डन)
खासमा भन्ने हो भने कट्टरता वा जडसुत्र कहिल्यै पनि सैद्धान्तिक परिपक्वताको सङ्केत होइन । बरु बौद्धिक असुरक्षाको सङ्केत हो । साँच्चैको भौतिकवादी सिद्धान्त सदैव संशोधनका लागि खुला हुनुपर्छ । अनुभवजन्य विश्लेषणको जगमा उभिएको हुनुपर्छ । साथै ऐतिहासिक परिवर्तनलाई बुझ्न र समेट्न सक्ने हुनुपर्छ ।
लेनिनलाई केही मानिसहरू बारम्बार मार्क्सवादलाई जडसुत्र ठान्ने प्रवृत्तिको अगुवाको रूपमा व्याख्या गर्न खोज्छन् । तर वास्तविकता त्यस्तो होइन । खासमा लेनिन मार्क्सवादलाई जडसुत्र ठान्नुको खतरा समेत राम्रोसँग बुझेका मान्छे थिए । उनले लेखेका छन्, यस्ता प्रश्नहरूको जवाफ सुरुमै हो वा होइनु भनेर दिने प्रयास गर्नु हास्यास्पद हुन्छ । (लेनिन, सन् १९२०, वामपन्थी साम्यवादस् एउटा वालरोग)
लेनिनले क्रान्तिकारी रणनीति सिद्धान्तबाटमात्रै निकाल्न सकिँदैन भन्ने राम्रोसँग बुझेका थिए । उनका अनुसार त्यस्तो रणनीतिको विकास ठोस परिस्थितिको ठोस विश्लेषणबाट गर्नुपर्छ । ठोस परिस्थितिको ठोस विश्लेषण भनिएको यो पदावली धेरै पटक दोहोर्याउने त गरिन्छ तर व्यवहारिक प्रयोग भने विरलै मात्रै गरिएको छ ।
६ मार्क्सवादले केको व्याख्या गर्छ ?
असाध्यै महत्त्वपूर्ण तर एकदमै कम छलफल भएको मार्क्सवादको एउटा सीमा छ । खासमा मार्क्सवादले स्वार्थ वा सरोकारको व्याख्या गर्छ तर त्यसको प्रेरणाको व्याख्या गर्दैन ।
मार्क्सवादले किन बहुसङ्ख्यक उत्पीडितहरूमा पुँजीवादको विनाशको सरोकार हुन्छ भन्ने देखाउँछ । तर उनीहरू यस्तो चासो र सरोकारलाई ठम्याउछननै भन्ने सुनिश्चितता गर्न भने सक्दैन । चेतनाको विकासलाई विद्यमान संस्थाहरू, विचारधारा, त्रास, आदत, प्रभुत्व तथा ऐतिहासिक अनुभवले तय गरिरहेको हुन्छ ।
सुनिश्चितताको माग गर्नु भनेको एक किसिमको भविष्यवाणीको खोजी पनि हो । मार्क्सवादले भविष्यवाणी दिन सक्दैन ।
मार्क्सवादले क्रान्तिकारी इच्छाशक्ति उत्पन्न गर्ला भनेर आशा गर्नु भनेको सैद्धान्तिक विश्लेषणलाई नैतिकता वा मनोविज्ञानसँग जोडेर भ्रमपूर्ण बनाउनु हो । मार्क्सवादले समाजवाद किन र कसरी भौतिक दृष्टिकोणबाट तर्कसङ्गत छ भन्ने व्याख्या त गर्छ तर कसैलाई पनि त्यसैको पछि लाग्न भने बाध्य पार्दैन । त्यसो गर्न सक्दैन पनि। त्यसका लागी राजनीतिक सङ्गठन, शिक्षा तथा सङ्घर्ष अपरिहार्य हुन्छन् ।
७ समाजवाद
पुँजीवादजस्तै समाजवाद पनि ऐतिहासिक रूपमा विशेष अवस्था हो । मार्क्सले कहिल्यै पनि पूर्ण समाजमा निर्बाध सङ्क्रमणको परिकल्पना गरेनन् ।
उनले लेखेका छन्, हामी यहाँ साम्यवादी समाजको चर्चा गर्दै छौँ। त्यस्तो समाज जुन पुँजीवादी समाजको गर्भबाट उत्पन्न हुन्छ ।( मार्क्स,सन १८७५,गोथा कार्यक्रमको आलोचना)
मुख्य कुरा पुँजीवादको असमानता, सीमा तथा अन्तर्विरोधलाई चिन्नु हो । समाजवाद जन्मँदा आफूमा पुँजीवादका धब्बा सहित आएको हुन्छ । यसको स्वरूप विभिन्न समाजमा फरक फरक हुन्छ । यस्तो भिन्नता समाजको विकास,वर्ग संरचना,राज्यको क्षमता तथा राजनीतिक इतिहासमा आधारित हुन्छ ।
समाजवादको सार्वभौम सूत्र खोज्नु भनेको अमूर्त सिद्धान्तको लागी भौतिकवादको परित्याग गर्नु हो । मार्क्सवाद प्रति इमानदार रहने हो भने विगत प्रति अन्ध श्रद्धा गर्ने होइन । वर्तमानप्रति मिहिनतापूर्वक ध्यान दिनुपर्छ ।
८ मार्क्सवादले के दिन्छ, के दिँदैन ?
आज पनि पुँजीवादलाई बुझ्न मार्क्सवाद नै चाहिन्छ । यसले शोषणलाई नैतिकतावादबाट छुट्याएर व्याख्या गर्छ । संकटलाई षड्यन्त्रको सिद्धान्तबाट छुट्याएर बुझाउँछ । दमन र प्रभुत्वबारे भ्रमबाट अलग्याएर बताउँछ । पुँजीवादले किन असमानता सिर्जना गर्छ भन्ने देखाउँछ । यसको अलावा पुँजीवादले कसरी आफ्नै नियममा काम गरिरहेको हुन्छ भन्ने बुझाउँछ ।
मार्क्सवादले नगर्ने भनेको राजनीतिको विस्थापन हो । अर्थात् यसले राजनीतिको ठाउँ भने लिँदैन । मार्क्सवादले रणनीति छान्ने काम गर्दैन । यसले संस्थाहरू कस्तो हुने र कसरी बनाउने पनि तय गर्दैन ।
जीतको ग्यारेन्टीु गर्दैन । समाजवाद पुस्तकका अक्षरबाट आउँदैन । अन्तर्विरोधहरूबाट यान्त्रिक रूपमा पनि जन्मिँदैन । यसको रचना हुन्छ । त्यस्तो रचना सङ्गठित मानिसहरूले ठोस ऐतिहासिक परिस्थितिको सीमामा रहेर गर्छन् ।
मार्क्सवाद भनेको समाजवाद उत्पादन गर्ने मेसिन होइन । हामीले फेर्न चाहेको संसारलाई बुझ्न सघाउने विधि हो । हामीले यसलाई यत्तिको रूपमा मात्रै लिनुपर्छ । ग्राम्स्कीले आफ्नो ुप्रिजन नोटबुक्सुमा भने जस्तै बुद्धिको निराशा तर इच्छाको आशावादिताु सहित हेर्नुपर्छ ।
अर्थात् पुँजीवादको विश्लेषण गर्दा गहिरो असमानता र कठोर नियन्त्रण प्रणालीमा बुद्धिको निराशा देखिन्छ । तर वास्तविकतासँग हार मान्नुको सट्टा थप सङ्गठित हुँदै, अनुसन्धान गर्दै परिवर्तनको लागि लड्ने आशावादी चाहना पनि सँगै राख्नुपर्छ ।
(सिम्प्लिफाईङ सोसियालिजमबाट)
रातोपाटीबाट








































































































































































































