२९ जेष्ठ २०८३, शुक्रबार

 

सरकारी विज्ञापनमा निजी सञ्चारमाध्यमलाई विभेद गरेको भन्दै बागलुङमा पत्रकार महासंघको धर्ना

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने सरकारी निर्णयको विरोध गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिएको छ।

महासंघले सरकारी विज्ञापन वितरणमा सबै सञ्चारमाध्यमको समान अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै सरकारी सञ्चारमाध्यमलाई मात्र विज्ञापन दिने निर्णय विभेदकारी भएको जनाएको छ।

महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापाले उक्त निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि असर पार्ने, सूचना प्रवाहमा नियन्त्रण गर्ने तथा सरकारी खर्च कटौतीको बहानामा निजी सञ्चारमाध्यमलाई विज्ञापनबाट वञ्चित गर्ने नीति स्वीकार्य नहुने बताउनुभयो।

धर्ना कार्यक्रममा महासंघका पदाधिकारी, पूर्वअध्यक्ष, पेशागत संगठनका अध्यक्ष तथा पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यहरू, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासंघका सचिव नारायण रिजालले गर्नुभएको थियो।

यसअघि नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको आह्वानमा सञ्चालन गरिएको देशव्यापी दबाबमूलक अभियानअन्तर्गत सङ्कलन गरिएको हस्ताक्षर महासंघ बागलुङका अध्यक्ष राम थापाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई बुझाइएको थियो।

महासंघले संघ, प्रदेश तथा स्थानीय तहका सबै निकायबाट वितरण हुने सरकारी विज्ञापनमा समान पहुँच र अवसर सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। साथै सरकारी सञ्चारमाध्यमलाई मात्र विज्ञापन दिने निर्णय तत्काल फिर्ता लिनुपर्ने महासंघ बागलुङका उपाध्यक्ष सृजना पन्तले बताउनुभयो।

देशभर सञ्चालन भइरहेको विरोध अभियानमार्फत पत्रकार महासंघले सरकारी विज्ञापनसम्बन्धी निर्णय पुनर्विचार गर्न सरकारलाई निरन्तर दबाब दिइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung