३१ जेष्ठ २०८३, आईतवार

 

आधिकारिकता विवादले रास्वपा बागलुङका नयाँ–पुराना दुवै समिति गण्डकी प्रदेश अधिवेशनमा मतदानबाट वञ्चित

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको हालै सम्पन्न अधिवेशनमा बागलुङ जिल्लाका नयाँ र पुराना दुवै कार्यसमितिका पदाधिकारी मतदान प्रक्रियाबाट वञ्चित भएका छन्।

पुरानो जिल्ला कार्यसमिति अधिवेशन उद्घाटनसँगै भंग भएको र नयाँ कार्यसमितिले आधिकारिकता प्राप्त नगरेकाले मतदानमा सहभागी हुन नपाएको जनाइएको छ।

रास्वपा बागलुङका क्षेत्रीय सभापति बालकृष्ण शर्माका अनुसार जिल्ला सभापति, उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्ष तथा दुईवटा क्षेत्रीय समितिका सभापति, उपसभापति र सचिवसहित ११ जना प्रतिनिधिले मतदान गर्न पाएनन्।

अध्यक्षसहितका पदाधिकारी प्रदेश अधिवेशनमा प्रतिनिधिको हैसियतमा सहभागी भए पनि मतदान अधिकारबाट वञ्चित भएका हुन्।

बागलुङ जिल्ला अधिवेशनबाट पुनम शर्मा नेतृत्वको नयाँ जिल्ला कार्यसमिति निर्वाचित भएको घोषणा भएपछि त्यसविरुद्ध पार्टी केन्द्रमा उजुरी परेको थियो। उजुरीका कारण नयाँ कार्यसमितिले आधिकारिकता प्राप्त नगरेको र निर्वाचित पदाधिकारीहरूले सपथ ग्रहणसमेत गर्न नपाएकाले मतदान अधिकार नदिइएको एक नेताले बताए।

अधिवेशनमा पूर्व जिल्ला सभापति महेन्द्र खड्का नेतृत्वको पुरानो कार्यसमितिका पदाधिकारी तथा पुनम शर्मा नेतृत्वको नयाँ कार्यसमितिका पदाधिकारी दुवै पक्ष मतदानबाट वञ्चित भएका थिए। यद्यपि जिल्लाका विभागीय प्रतिनिधिहरू भने मतदान प्रक्रियामा सहभागी भएका थिए।

रास्वपा गण्डकी प्रदेशको अधिवेशनबाट मिना शर्मा आचार्य प्रदेश उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ भने चित्रबहादुर थापा प्रदेश सदस्यमा निर्वाचित हुनुभएको छ। अधिवेशनबाट नविन त्रिपाठी प्रदेश सभापतिमा निर्वाचित भएका छन्।

अधिवेशनमा कुल ७८० प्रतिनिधि रहेकामा ४३७ जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung