बागलुङ । बागलुङको गलकोट नगरपालिका–३ मा रहेको एक घरबाट ग्रिनेट बम फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सोमबार साँझ करिब ६ बजे खडक बहादुर खत्रीको तीनतले कच्ची घरको बीच तल्लामा रहेको खाली कोठाबाट ग्रिनेट बम फेला परेको हो ।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हटियाबाट प्रहरी निरीक्षक हेमबहादुर थापाको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले उक्त घरलाई सुरक्षा घेराभित्र राख्दै सर्वसाधारणको आवतजावत नियन्त्रण गरेको जनाएको छ ।
घटनास्थलमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक रामेश्वर तिवारीको कमाण्डमा थप प्रहरी टोली खटाइएको छ ।
फेला परेको ग्रिनेट निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय गरिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा घरधनी खडक बहादुर खत्री पूर्व भारतीय प्रहरी रहेको र उनको करिब १० वर्षअघि नै मृत्यु भइसकेको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
खोजीनितीबाट








































































































































































































