बागलुङ । महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा शेयर सदस्यहरूका लागि वित्तीय साक्षरता तथा आगामी वर्षको कार्ययोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी ज्येष्ठ सदस्य सुमित्रा शाक्य र राष्ट्रिय सहकारी महासंघकी सञ्चालक हुमा कुमारी जिसीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा संस्थाले हालसम्म गरेका गतिविधिहरूको समीक्षा गर्दै आगामी वर्षको कार्ययोजना, बजेट व्यवस्थापन तथा संस्थागत व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।
साथै संस्थालाई अझ प्रभावकारी र गतिशील बनाउन तथा शेयर सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक सुझावहरू सहभागी सदस्यहरूबाट संकलन गरिएको थियो।
कार्यक्रममा सल्लाहकार मना केसी, शेयर सदस्य रेवती किसान र ज्येष्ठ शेयर सदस्य तिलकुमारी रानाले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष लिला देवी केसी खड्काको अध्यक्षता, उपाध्यक्ष विद्या खड्काको स्वागत र सचिव पम्फा किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।









































































































































































































