बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङका तेज नारायण श्रेष्ठको आधा जीवन पानी घट्ट चलाउदै बित्यो । अन्न पिस्नका लागि पानीको प्रयोगबाट सञ्चालनमा आउने घट्ट ग्रामिण भेगमा अझै सञ्चालनमा छ ।
उमेरले बुढ्यौली छुन लागेका श्रेष्ठ अझै पानी घट्टलाईनै निरन्तरता दिदै आउनुभएको छ । पानी घट्टबाटै जीविका चलाउदै आउनुभएको श्रेष्ठले आफ्नै घट्ट सञ्चालनमा ल्याएको ३० वर्ष पुगेको बताउनुहुन्छ ।
बढ्दो आधुनिक प्रविधिको प्रयोगसंगै बागलुङको ग्रामिण भेगमा अन्न पिस्न अझै पानी घट्टको प्रयोग कायमै रहेको छ । कुटानी पिसानी मिलले समेत प्रतिस्थापन गर्न नसकेको घट्ट ग्रामिण क्षेत्रका गहनाको रुपमा चिनिदै आएको छ ।
दैनिक जीवनयापनका लागि परम्परागत पानी घट्ट सञ्चालन गरिरहेका श्रेष्ठ पानी घट्टलाई जीवनकै मुख्य पेशा बनाउदै आएको बताउनुहुन्छ ।
स्वस्थकर र सर्वसुलभ रुपमा सञ्चालनमा आउने भएकाले ग्रामीण भेटका नागरिक अझै अन्न पिस्नका लागि घट्टको प्रयोग गर्दै आएको पाइन्छ । श्रेष्ठले घट्टमा अन्न पिसेवापत अन्न राखे पाथीको पाँच मुठी र पैसा राखे पाथीको रु। दशमा घट्ट सञ्चालन गर्दै आउनुभएको छ ।
“परम्परागत घट्ट चलाएको ३० वर्ष भयो, आफैले स्थापना गरेको पानीघट्ट अझै चलाउदै छु, घर खर्च र आफूलाई पुग्ने अन्न घट्टबाटै आउछ, पहिला खरले छाएको थियो,अहिले जस्ताले छाएको छु, मकैका लागि छुट्टै र गहुँ र कोदोको लागि छुट्टै घट्ट छ” श्रेष्ठले भन्नुभयो “घट्ट ग्रामिण उद्योगको शुरुवात भएपनि स्थानीय सरकारले सहयोग गरेको छैन, घट्ट चलाएवापतको अन्न र रकमले घर खर्चमा सहयोग र परम्पराको निरन्तरता हुन्छ ।”
उमेर ढल्किँदै गए पनि परम्परागत पेशालाई निरन्तरता दिइरहेको श्रेष्ठको भनाई छ । आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान समयमा पनि ग्रामीण भेगमा अझै पानी घट्ट जस्ता पुराना प्रविधिहरू जीवनयापनको आधार बनेको पाइन्छ ।
स्थानीय स्रोत साधनको प्रयोग गरी सञ्चालन हुने पानी घट्ट परम्परागत उद्योगका रुपमा लिइन्छ । पानीलाई द्रुत गतिमा पाइप वा काठको ढुङ्ग्रोबाट खसालेर पानीको गतिले घट्टको जाँतो घुमाएर अन्न पिस्ने कार्यलाई पानी घट्टका रुपमा लिइने गरेको छ ।
ग्रामीण जीवनशैली र श्रम संस्कृतिको झल्को दिने पानी घट्ट विस्तारै हराउदै गएपनि बागलुङको बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको खोला किनारमा भेटिदै आएका छन् ।












































































































































































































