बागलुङ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को व्यवस्थापन संकायको परीक्षामा बागलुङ नगरपालिका–४ श्रीनगरटोलस्थित गरिमा डिग्निटी आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण भएका छन्।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको २०८२ सालको परीक्षामा सहभागी ३६ जना विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रिन्सिपल तेजेन्द्र कुँवरले विद्यार्थीमैत्री शैक्षिक वातावरण, नियमित अध्ययन–अध्यापन तथा शिक्षक–विद्यार्थीबीचको समन्वयका कारण उत्कृष्ट नतिजा हासिल भएको बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवन आचार्यले मेहनती र अनुभवी शिक्षकहरूको टोली तथा गुणस्तरीय शिक्षाका कारण विद्यालय अभिभावक र विद्यार्थीहरूको रोजाइमा पर्दै आएको बताए।
विद्यालयले विगतका वर्षझैं यस वर्ष पनि उत्कृष्ट नतिजा कायम राख्दै गुणस्तरीय शिक्षाप्रति आफ्नो प्रतिबद्धता प्रमाणित गरेको जनाएको छ।












































































































































































































