बागलुङ । धौलागिरि अधिकृत विक्रेता संघ बागलुङको आयोजनामा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
ग्लोबल टच प्रालि र कर सहयोगी श्रमिक संघ नेपाल जिल्ला समिति बागलुङको सहआयोजनामा शनिबार होटल सितल एण्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा व्यवसायी तथा करदातालाई करसम्बन्धी ज्ञान अभिवृद्धि गराउने उद्देश्य राखिएको थियो।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बागलुङका कार्यालय प्रमुख कपिल सिलवाल, ग्लोबल टचका अध्यक्ष डा. सुनिल देवकोटा, सञ्चालक मनोज काफ्ले, विभागीय प्रमुख हेमराज गौतम तथा कर अधिकृत राजन सापकोटाले कर, यसको महत्व, कर प्रणाली, करदाताको दायित्व, समयमै कर तिर्दा प्राप्त हुने सेवा–सुविधा तथा पछिल्ला करसम्बन्धी व्यवस्थाबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष नरेश कँडेल र नेपाल वितरक महासंघ गण्डकी प्रदेशका अध्यक्ष बद्री ढुंगानाले व्यवसायीलाई करप्रति जिम्मेवार र सचेत हुन आग्रह गर्दै मन्तव्य व्यक्त गर्नुभएको थियो।
कर सहयोगी श्रमिक संघ नेपाल जिल्ला समिति बागलुङका अध्यक्ष हेमलाल पौडेलले कार्यक्रमको व्यवस्थापन गर्नुभएको थियो।
धौलागिरि अधिकृत विक्रेता संघ बागलुङका अध्यक्ष राजन कुमार श्रेष्ठ को अध्यक्षता, उपाध्यक्ष हेमन्त बानियाँको स्वागत मन्तव्य तथा महासचिव नारायण ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा सहभागीहरूले करसम्बन्धी विभिन्न जिज्ञासा राख्दै अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका थिए। आयोजकले यस्ता कार्यक्रमले कर सचेतना अभिवृद्धि गर्न तथा करदातालाई कर प्रणालीबारे थप जानकारी दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।













































































































































































































