बागलुङ । जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ७६ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न नगरपालिकाको १९औँ नगरसभामा नगर उपप्रमुख हरिहर शर्माले बजेट प्रस्तुत गरेका हुन्।
नगरपालिकाले आगामी वर्षको बजेटमा पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ। सार्वजनिक भवन, सिँचाइ तथा अन्य विकास पूर्वाधार निर्माणका लागि ११ करोड ८२ लाख ९१ हजार ४४२ रुपैयाँ विनियोजन गरिएको छ। ‘दिगो र वातावरणमैत्री पूर्वाधार, जैमिनी नगर समृद्धिको आधार’ नारासहित नगरभित्रका १३ वटा दिगो सडकको स्तरोन्नति तथा बाह्रै महिना सञ्चालनका लागि १ करोड ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ।
संघीय सरकारको समपूरक अनुदानमा साझेदारी गर्दै कालिगण्डकी करिडोर–कुश्मिसेरा–दमेक–बनहुँ–गाजादह–मध्यपहाडी लोकमार्ग सडकका लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै प्रदेश सरकारको समपूरक अनुदान साझेदारीमा न्यारढिक–धुल्लुबिहारथला सडकका लागि १ करोड २० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
सामाजिक विकासतर्फ कुल ५ करोड ६६ लाख ९३ हजार ५५८ रुपैयाँ विनियोजन गरिएको छ। लिड विद्यालय, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा प्रधानाध्यापकहरूको प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिँदै १ करोड १३ लाख रुपैयाँ छुट्याइएको छ। उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रमका लागि समेत बजेट व्यवस्था गरिएको छ।
स्वास्थ्य क्षेत्रतर्फ जैमिनी नागरिक स्वास्थ्य उपचार कोषलाई थप प्रभावकारी बनाउन ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका कार्यक्रमका लागि पनि आवश्यक बजेट व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।
आर्थिक विकासतर्फ १ करोड ८८ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। ‘जैमिनीको शान, परिचययुक्त किसान’, निःशुल्क नश्ल सुधार तथा दुग्ध उत्पादन कार्यक्रम, ‘हरेक खेतमा सिँचाइ, हरेक किसानमा समृद्धि’ तथा किसानका लागि निःशुल्क कल सेवा जस्ता कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
नगरपालिकाको चर्चित ‘सेरा जाऔँ, केरा खाऔँ’ कार्यक्रमका लागि १२ लाख रुपैयाँ तथा ‘गाउँ फर्कौं, आफ्नै गाउँ बनाऔं’ कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट छुट्याइएको छ। वन, वातावरण, भू–संरक्षण तथा विपद् व्यवस्थापनका लागि ६१ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिकालाई वातावरणमैत्री बनाउने उद्देश्यले ‘१०००८ बर, पीपल र समी विरुवा रोपण अभियान’ सञ्चालन गर्न ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। अभियानअन्तर्गत खानेपानीका मुहान, कुवा, चौतारी तथा सार्वजनिक पोखरी निर्माण गरिने जनाइएको छ।
सुशासन, संस्थागत विकास तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि ४९ लाख ५० हजार रुपैयाँ तथा अन्तरसम्बन्धित विषयगत कार्यक्रम कार्यान्वयनका लागि १ करोड ५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ। ‘जैमिनीकी छोरी’ कार्यक्रमका लागि पनि आवश्यक बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।
आवासविहीन नागरिकलाई घर निर्माण गरिदिने कार्यक्रमलाई निरन्तरता दिँदै नगरपालिकाले ३१ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ। खरका छाना विस्थापन कार्यक्रमका लागि ४ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ। नगरपालिकाले चालुतर्फ १२ करोड ६५ लाख रुपैयाँ विभिन्न खर्च शीर्षकमा विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षका लागि संघीय सरकारको राजस्व बाँडफाँडबाट ९ करोड १७ लाख ९ हजार रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ११ करोड १३ लाख रुपैयाँ, चालु तथा पुँजीगत अनुदानबाट ४२ करोड ५४ लाख रुपैयाँ तथा समपूरक अनुदानबाट २ करोड ३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
प्रदेश सरकारबाट राजस्व बाँडफाँड, वित्तीय समानीकरण, समपूरक तथा विशेष अनुदानमार्फत ३ करोड ४३ लाख ३१ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ। यसैगरी सडक बोर्ड नेपालबाट ६० लाख रुपैयाँ, गत आर्थिक वर्षको मौज्दात ५ करोड ४१ लाख १० हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट १ करोड ५५ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।
नगरप्रमुख नरबहादुर पुनले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल सम्पन्न भएपछि नगरसभाले बजेट प्रस्तुत तथा सार्वजनिक गरेको हो।













































































































































































































