९ असार २०८३, मंगलवार

 

लागुऔषध सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा तथा सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखाको सहकार्यमा बागलुङ नगरपालिका वडा नं – १ स्थित रामरेखा वन कार्यालयको भवनमा सञ्चालन भइरहेको सप्ताहव्यापी लागुऔषध न्यूनीकरण कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई लक्षित सचेतनामूलक प्रशिक्षण कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको छ।

लागुऔषधको चुनौती चिनौँ, सामाजिक समाधानको बाटो खोजौूँ भन्ने मूल नारासहित असार ५ गतेदेखि १२ गतेसम्म सञ्चालन भइरहेको उक्त कार्यक्रमअन्तर्गत रामरेखा आधारभूत विद्यालय, धौलागिरि माध्यमिक विद्यालय, रुद्रेपिपल माध्यमिक विद्यालय, बहिरा विद्यालय तथा होली चाइल्ड माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका कार्यालय प्रमुख फणिन्द्र प्रसाई ले प्रशिक्षण प्रदान गर्दै युवापुस्तामा बढ्दो लागुऔषध दुरुपयोगका जोखिम, त्यसबाट हुने सामाजिक तथा व्यक्तिगत असर, लागुऔषधबाट बच्ने उपाय तथा सचेत र जिम्मेवार नागरिकको भूमिकाबारे विस्तृत जानकारी दिनुभएको थियो।

उहाँले समाजलाई लागुऔषधमुक्त बनाउन विद्यार्थी, अभिभावक तथा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै लागुऔषध नियन्त्रण र न्यूनीकरणका लागि सबै पक्षको समन्वित प्रयास आवश्यक रहेको विषयमा विशेष जोड दिनुभएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले लागुऔषधका दुष्प्रभाव तथा त्यसबाट बच्ने उपायबारे उपयोगी जानकारी प्राप्त गरेको प्रतिक्रिया दिएका थिए। आयोजकका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमहरूले युवापुस्तामा सकारात्मक सोचको विकास गर्दै लागुऔषधमुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung