बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयको मंगलबार सम्पन्न अभिभावक भेलाले अभिभावकको तर्फबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्रीजय श्रेष्ठलाई सर्वसम्मत रूपमा चयन गरेको छ ।
समितिका सदस्यहरूमा लक्ष्मण, मनु थापा, कमला क्षेत्री जिसी तथा अनुज श्रेष्ठ चयन भएका छन् । साथै विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवमा प्रधानाध्यापक छवि रमण रेग्मी रहेका छन् भने बागलुङ नगरपालिका-३ का वडा अध्यक्ष सनि केसी सदस्य रहेको विद्यालयका सहायक मुकुन्द प्रसाद शर्माले बताउनुभयो ।
विद्यार्थीको सिकाई उपलब्धी र शैक्षिक नतिजाका साथै सबै पक्षमा आफूले सबै सरोकारवालाहरुसँग सहकार्य गरेर विद्यालयको संस्थागत विकासमा क्रियाशिल रहने नवनिर्वाचित अध्यक्ष श्रीजय श्रेष्ठले नयाँ विश्वलाई बताउनुभयो ।
बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले अध्यक्षता गरेका थिए । विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक भिमप्रसाद गौतमले गरेका थिए ।
१९९७ सालमा स्थापना भएको विद्यामन्दिर माध्यमिक विद्यालयले परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ ।
विद्यालयमा रहेको विद्यार्थीमैत्री वातावरण, गुणस्तरीय शिक्षण सिकाइ र अनुशासित शैक्षिक अभ्यासका कारण उत्कृष्ट नतिजा सम्भव भएको विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयले शैक्षिक गुणस्तर वृद्धिलाई प्राथमिकतामा राख्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको छ ।













































































































































































































