११ असार २०८३, बिहीबार

 

गलकोट नगरपालिकाले ल्यायो ७४ करोड ९९ लाखको बजेट, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता

बागलुङ ।गलकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ७४ करोड ९९ लाख ८२ हजार ७ सय ६० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

नगरसभाको १९औँ अधिवेशन मा नगर उपप्रमुखफमलाल निउरेले चालुतर्फ ५७ करोड ९६ लाख ५५ हजार ७ सय ६० रुपैयाँ र पूँजीगततर्फ १७ करोड ३ लाख २७ हजार रुपैयाँ गरी कुल बजेट प्रस्तुत गरेका हुन्।

बजेटका लागि संघीय सरकारको वित्तीय समानीकरण, राजस्व बाँडफाँड, सशर्त, विशेष तथा समपूरक अनुदान,गण्डकी प्रदेश सरकारको अनुदान, आन्तरिक राजस्व तथा चालु आर्थिक वर्षको बचत रकमलाई स्रोतका रूपमा अनुमान गरिएको छ। नगरपालिकाले आन्तरिक राजस्वबाट २ करोड ५ लाख रुपैयाँ संकलन गर्ने तथा चालु वर्षको कार्यक्रम कार्यान्वयनपछि ४ करोड ३८ लाख ५२ हजार ८४ रुपैयाँ बचत हुने प्रक्षेपण गरेको छ।

कृषि, उद्यम र पर्यटनमा लगानी

आर्थिक विकासतर्फ कृषि उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि १६ लाख रुपैयाँ, दूध तथा खसीबोका उत्पादन प्रोत्साहनका लागि २५ लाख रुपैयाँ र सहकारी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि ४ लाख रुपैयाँ विनियोजन गरिएको छ।

उद्यमशीलता विकास, स्वरोजगार तथा वित्तीय साक्षरता अभियान सञ्चालनका लागि ७१ लाख ३० हजार रुपैयाँ छुट्याइएको छ।

पर्यटन क्षेत्रको विकासका लागि विभिन्न पदमार्ग निर्माण, संरक्षण तथा डकुमेन्ट्री निर्माण कार्यका लागि ४२ लाख रुपैयाँ तथा खानेपानी र सरसफाइ योजनाको मर्मत तथा व्यवस्थापनका लागि ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

युवा, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

युवा तथा खेलकुद क्षेत्रअन्तर्गत खेलमैदान व्यवस्थापन, निर्माण तथा खेल प्रोत्साहनका कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। बालमैत्री स्थानीय शासन, बाल अधिकार संरक्षण तथा बाल विकास प्रवर्द्धनका लागि २० लाख रुपैयाँ छुट्याइएको छ।

शिक्षा क्षेत्रका लागि नगरपालिकाले ३ करोड २६ लाख ५४ हजार ७ सय ६० रुपैयाँ तथा संघीय सशर्त अनुदानबाट ३४ करोड ६ लाख ११ हजार रुपैयाँ गरी कुल ३७ करोड ३२ लाख ६५ हजार ७ सय ६० रुपैयाँ विनियोजन गरेको छ, जुन कुल बजेटको ४९।७६ प्रतिशत हो।

स्वास्थ्य क्षेत्रका कार्यक्रम सञ्चालनका लागि नगरपालिकातर्फ २ करोड ८६ लाख १४ हजार ६ सय रुपैयाँ र संघीय सशर्त अनुदानबाट ६ करोड ८८ लाख रुपैयाँ गरी कुल ९ करोड ७४ लाख १४ हजार ६ सय रुपैयाँ विनियोजन गरिएको छ।

पूर्वाधार, वातावरण र वडास्तरीय योजना

कला, संस्कृति तथा साहित्य संरक्षणका लागि ८ लाख रुपैयाँ, निर्माणाधीन प्रशासकीय भवन निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ तथा वन, वातावरण र विपद् व्यवस्थापनका लागि ४७ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ।

नगरपालिकाले प्रत्येक वडामा एक–एक वटा नगरस्तरीय योजना कार्यान्वयन गर्न १५–१५ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ।

नगरसभाबाट बजेट सर्वसम्मत पारित

नगरसभाले आर्थिक वर्ष २०८३र०८४ को बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। साथै विपद् व्यवस्थापन कोष, विशेष विकास कोष तथा आर्थिक सहायता सम्बन्धी खर्च स्वीकृत गर्नुका साथै नगरपालिकाविरुद्ध परेका मुद्दाको प्रतिरक्षाका लागि कार्यपालिका सदस्य, भीमबहादुर विक र न्यायिक सहजकर्ता हेमन्त बुढाथोकीलाई प्रतिनिधि तोक्ने प्रस्ताव पनि पारित गरिएको छ।

सभामा नगरसभा सदस्यहरूले विभिन्न प्रश्न, सुझाव तथा जिज्ञासा राखेका थिए। नगरसभा नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung