बागलुङ । बागलुङ बजारस्थित विद्यामन्दिर माध्यमिक विद्यालयमा नवगठित विद्यालय व्यवस्थापन समितिको पदस्थापन तथा पदभार ग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
नवनिर्वाचित अध्यक्ष श्रीजय श्रेष्ठको नेतृत्वमा रहेको विद्यालय व्यवस्थापन समितिले धार्मिक विधिअनुसार पूजापाठ गरी औपचारिक रूपमा पदभार ग्रहण गरेको हो।
वैदिक मन्त्रोच्चारणबीच अध्यक्ष श्रेष्ठसँगै सदस्यहरू वडा अध्यक्ष सनि केसी लक्ष्मण, अनुज श्रेष्ठ, कमला क्षेत्री र मोनु थापाले पद तथा गोपनीयताको जिम्मेवारी सम्हाले। विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले सदस्य–सचिवका रूपमा पदभार ग्रहण गर्नुभयो।
पदस्थापन कार्यक्रममा बागलुङ नगरपालिकाको शिक्षा शाखा प्रमुख धनप्रसाद पोख्रेलको उपस्थिति रहेको थियो। कार्यक्रममा नवगठित समितिका पदाधिकारीहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रभावकारी व्यवस्थापन तथा विद्यामन्दिर माध्यमिक विद्यालयलाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न आवश्यक सहयोग र नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनीहरूले विद्यालयको शैक्षिक, प्रशासनिक तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवालासँग सहकार्य गरेर विद्यालयलाई थप उन्नत बनाउने लक्ष्य रहेको बताए।
अध्यक्ष श्रेष्ठलाई यसअघि बागलुङ नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी तोकेको थियो। त्यसपछि सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समिति गठन भई शुक्रबार औपचारिक रूपमा पदस्थापन तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो।
नयाँ नेतृत्वको कार्यकालले विद्यालयको समग्र विकास, शैक्षिक सुधार र संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।
वि.सं. १९९७ सालमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यको नेतृत्वमा स्थापना भएको विद्यामन्दिर माध्यमिक विद्यालय देशकै इतिहास बोकेको पुरानो शैक्षिक संस्थामध्ये एक हो। आठ दशकभन्दा लामो शैक्षिक यात्रा तय गरेको यस विद्यालयले बागलुङसहित देशका विभिन्न क्षेत्रमा योगदान पुर्याउने हजारौं जनशक्ति उत्पादन गर्दै आएको छ।














































































































































































































