नेपाल पत्रकार महासंघ बागलुङ शाखाको विसं २०५४ साल साउन १८ गते भएको भेलाले राजेशचन्द्र राजभण्डारीको नेतृत्वमा केन्द्रीय अध्यक्ष किशोर नेपालले बागलुङलाई शाखा प्रदान गरेपछि । त्यति बेलाको १३ सदस्यीय समितिले स्थापना कालदेखि महासंघको घरको सपना देख्न लागेको पनि १९ वर्षपछि शाखाले पहिलो पटक ठूलो र कठिन संघर्षको बिच जग्गा पाउने भएको थियो ।
बागलुङमा विभिन्न इतिहास बोकेको संस्थाहरु विद्या मन्दिरपुस्तकालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल परिवार नियोजन संघ, नेपाल नेत्र ज्योति संघ बागलुङ धौलागिरि आँखा अस्पताल र बागलुङ जेसीजले विभिन्न चरणमा जग्गाको व्यवस्थापन गरि भवन निर्माण गरेको थियो ।
बागलुङमा विसं १९९७ सालमा राधाकृष्ण टोलमा विद्यामन्दिर माध्यमिक विद्यालयको भवन सर्वाजनिक र खरिद गरिएको जग्गामा निर्माण भएको हो।
विसं २००३ सालमा स्थापना भएको विद्यामन्दिर पुस्तकालयले पुस्तकालय पूर्वअध्यक्ष टोपबहादु्र विजुच्छेको नेतृत्वमा शिवधारा चोकमा २०२७ साल मंसिर २ गते भवनको लागि शिवधाराको पौवा पाएको थियो ।
नेपाल रेडक्रस सोसाइटी बागलुङको भवन २०३३ चैत्र बनेको हो । संस्थापन सभापति देवबहादुर श्रेष्ठको नेतृत्वमा विसं २०४९ सालमा नेपाल नेत्र ज्योति संघ बागलुङ धौलागिरि आँखा अस्पतालको जग्गा व्यवस्थपन र भवनको काम अगाडि बढेको थियो ।
साथै बागलुङ जेसीजले २०६२ सालमा जग्गा खरिद गरी भवन बनाएको हो । आफ्नै भवन निर्माण गर्ने सपना धेरै वर्षदेखिको साझा आकांक्षा थियो।
भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्त गर्ने अभियान मेरो कार्यकालमा प्राथमिकताका साथ अघि बढाइए पनि यसको सुरुवात भने धेरैअघि नै भइसकेको थियो। यस अभियानमा विभिन्न समयका महासंघका नेतृत्व, सरकारी निकाय, राजनीतिक दल तथा पत्रकारहरूको निरन्तर प्रयास र सहकार्य जोडिएको थियो।
जग्गा प्राप्तिका लागि पहिलो उल्लेखनीय पहल नेपाल पत्रकार महासंघ बागलुङ शाखाका तत्कालीन अध्यक्ष राजेशचन्द्र राजभण्डारीको कार्यकालमा विसं २०६१ तिर भएको थियो।
त्यतिबेला हाल जिल्ला हुलाक कार्यालय रहेको सरकारी जग्गा महासंघलाई उपलब्ध गराउने विषयमा तत्कालीन प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद अधिकारीसँग छलफल भएको थियो। त्यस पहलमा तत्कालीन नेकपा नेता दिनानाथ शर्माको पनि सहयोग थियो। प्रमुख जिल्ला अधिकारी अधिकारी सकारात्मक भए पनि संविधानसभा निर्वाचनको राजनीतिक परिवेशका कारण प्रक्रिया अगाडि बढ्न सकेन।
त्यसपछि बागलुङ नगरपालिका–३ को हाडेपाखा तथा हाल बागलुङ नगरपालिका–२ मा रहेको खड्का पुँवार मन्दिर आसपासका जग्गाको अध्ययन गरियो। तर ती स्थान भवन निर्माणका लागि उपयुक्त नभएको निष्कर्ष निकालियो।
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा विदुर खड्का बागलुङ नगरपालिकाका प्रमुख हुनुहुन्थ्यो। त्यस समयमा पुनः जग्गा प्राप्तिको पहल गरियो। राजेशचन्द्र राजभण्डारीको नेतृत्वमा गएको टोलीसँगको छलफलमा नगरप्रमुख खड्काले आफूले भोगचलन गरिरहेको पुँवार खड्काको जग्गा प्रस्ताव गर्नुभयो भने महासंघले जिल्ला हुलाक कार्यालय रहेको जग्गा माग गर्यो। तर महासंघका तत्कालीन सचिव हरिनारायण गौतमलाई पदबाट हटाउनुपर्ने सर्त राखिएपछि सहमति हुन सकेन र प्रक्रिया पुनः रोकियो।
पछि पूर्वअध्यक्ष हरिनारायण गौतमको कार्यकालमा विसं २०६४ तिर जिल्ला हुलाक कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय परिसरको खाली जग्गालगायत अन्य विकल्पहरूको अध्ययन गरियो। तर ती प्रयासले पनि मूर्त रूप लिन सकेन।
यसैगरी, पूर्वअध्यक्ष रामबहादुर जिसीको नेतृत्वमा विसं २०६७ तिर तथा खिलराज रेग्मी नेतृत्वको सरकारका बेला जिल्ला हुलाक कार्यालयको पुरानो भवन रहेको जग्गा प्राप्त गर्न तीन पटकसम्म प्रयास गरियो। तर ती प्रयासहरू पनि सफल हुन सकेनन्।
मेरो कार्यकालमा भने भवन निर्माणका लागि उपयुक्त सरकारी जग्गाको खोजीलाई व्यवस्थित रूपमा अघि बढाइयो। मरेपिपल, रुद्रपिपल माध्यमिक विद्यालय अगाडिको क्षेत्र, हुलाकको पुरानो भवन रहेको स्थान, चिप्लेटी बसपार्क अगाडिको जग्गा, घरेलु तथा साना उद्योग कार्यालय परिसरको खाली जग्गा तथा श्री कालिका कन्या मन्दिर जाने बाटोनजिक हरिहर श्रेष्ठ र हरेराम भारीको घरबीच हाइटेन्सन लाइनमुनिको जग्गालगायत विभिन्न स्थानहरूको विस्तृत अध्ययन गरियो।
यस क्रममा मभन्दा अघिका अध्यक्षहरू राजेशचन्द्र राजभण्डारी, हरिनारायण गौतम र रामबहादुर जिसीले थालेको प्रयासलाई निरन्तरता दिँदै अन्ततः बागलुङ नगरपालिका–२ मा जिल्ला अदालत तथा तत्कालीन जनस्वास्थ्य कार्यालय नजिक बाल कल्याण समितिको नाममा रहेको सरकारी जग्गा सबैभन्दा उपयुक्त विकल्पका रूपमा छनोट गरियो।
त्यतिबेला भागिरथ पाण्डे प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो भने बागलुङ नगरपालिकाको नेतृत्व कर्मचारीमार्फत सञ्चालन भइरहेको थियो। जग्गा प्राप्तिको सम्पूर्ण प्रक्रियामा उहाँको महत्वपूर्ण सहयोग रह्यो।
विसं २०७२ तिर बाल कल्याण समितिको नाममा रहेको र बागलुङ नगरपालिकाले भोगाधिकार प्राप्त गरेको उक्त जग्गा नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई ५० वर्षका लागि लिजमा उपलब्ध गराउने निर्णय गरियो। घरबारविहीन तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको हितका लागि छुट्याइएको उक्त जग्गालाई महासंघको भवन निर्माणका लागि उपयोग गर्ने प्रस्ताव मैले तत्कालीन अध्यक्षका रूपमा अघि सारेँ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीको समर्थनमा बागलुङ नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासन अधिकृत युक्तप्रसाद सुवेदीले प्रारम्भिक लिज सम्झौतापत्र तयार गर्नुभयो।
त्यसपछि जिल्ला प्रशासन कार्यालयमा आयोजित संयुक्त बैठकमा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका तर्फबाट मैले तथा नगरपालिकाका तर्फबाट युक्तप्रसाद सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गर्यौं।यो निर्णय सार्वजनिक गर्दा अनावश्यक विवाद उत्पन्न हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै करिब एक वर्षसम्म यस विषयलाई गोप्य राखिएको थियो।
त्यतिबेला स्थानीय तहको निर्वाचन हुन नसकेकाले बागलुङ नगरपालिका सर्वदलीय संयन्त्रमार्फत सञ्चालन भइरहेको थियो। सरकारी जग्गा कुनै संस्थालाई उपलब्ध गराउनु हुँदैन भन्ने धारणा कर्मचारी वृत्तमा समेत विद्यमान थियो।
यद्यपि, प्रमुख जिल्ला अधिकारीसहित नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूको सकारात्मक सहयोगका कारण प्रक्रिया सफलतापूर्वक अघि बढ्न सक्यो।
सर्वदलीय संयन्त्रमा नेपाली कांग्रेसका महेन्द्र आचार्य, नेकपा (एमाले) का खेमराज सापकोटा र खगराज पाण्डेय, तत्काली नेकपा (माओवादी केन्द्र) हाल नेकपाका निर्मलबहादुर श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका लक्ष्मी बाँस्कोटा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन सेरबुजालगायतका प्रतिनिधिहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।
जग्गा प्राप्त भएको करिब एक वर्षपछि, विसं २०७३ साल माघ ९ गते आइतबारमा नेपाल पत्रकार महासंघका तत्कालीन अध्यक्ष महेन्द्र विष्टले भवनको शिलान्यास गर्नुभयो।
त्यसपछि दिल शिरीषको नेतृत्वमा सोही जग्गामा आधुनिक सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भयो। शाखा स्थापना भएको २१ वर्षपछि, विसं २०७५ असार २५ गते नेपाल पत्रकार महासंघको १८औँ स्थापना दिवसका अवसरमा बागलुङ शाखा आफ्नै भवनमा सर्न सफल भयो। भवनमा आधुनिक सूचना केन्द्र, सभाहल तथा अन्य आवश्यक पूर्वाधारसमेत निर्माण गरिएका छन्।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आफ्नै भवन निर्माण हुनु एउटा भौतिक संरचना निर्माणको उपलब्धि मात्र थिएन। यो जिल्लाका पत्रकारहरूको साझा सपना, विभिन्न नेतृत्वको निरन्तर प्रयास, राजनीतिक सहमति, सरकारी सहयोग, स्थानीय समुदायको साथ र पत्रकारहरूको एकताको ऐतिहासिक परिणाम थियो।
भवन निर्माणको आधार बनेको जग्गा प्राप्तिको यो संघर्ष बागलुङको पत्रकारिता इतिहासको एक महत्त्वपूर्ण अध्याय हो। यो उपलब्धिले साझा उद्देश्यप्रति दृढ प्रतिबद्धता, निरन्तर प्रयास, सहकार्य र धैर्यका साथ अघि बढ्दा असम्भवजस्तो देखिने लक्ष्यसमेत हासिल गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश दिएको छ।













































































































































































































