बागलुङ। नेपाल शिक्षक संगठन बागलुङको एकता जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ। एकीकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनबीच भएको सांगठनिक एकतापछि जिल्लामा पहिलोपटक एकता जिल्ला सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनलाई सम्बोधन गर्दै नेपाल शिक्षक संगठनका सचिवालय सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज झपिन्द्रबहादुर क्षेत्रीले शिक्षकका हक–हित, पेशागत अधिकार र सम्मानका लागि शिक्षकहरू संगठित हुन आवश्यक रहेको बताउनुभयो।
उहाँले शिक्षामा सामान्य सुधारभन्दा पनि संरचनागत परिवर्तन आवश्यक रहेको धारणा राख्दै शिक्षक संगठन कसैले नचाहँदैमा खारेज नहुने र यसले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला सहइञ्चार्ज ज्ञामनाथ गैरे, केन्द्रीय सदस्य तथा जिल्ला संयोजक प्रकाश घर्ती, नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इञ्चार्ज इन्दु शर्मा, केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज वेदप्रसाद शर्मा, निसीखोला गाउँपालिका अध्यक्ष इन्द्रलाल रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सम्मेलनले वीरबहादुर चोखालको संयोजकत्वमा ३१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ। समितिमा हरिराम रेग्मी, प्रकाश रोका मगर, गोविन्द चालिसे, जमुना थापा बुढाथोकी, लक्ष्मण रोका मगर, पूर्णभद्र निउरे, भविन्द्र गौतम, तारामाया विक, माया रेग्मी, कासीराम विक, नन्दबहादुर बुढा, कृष्णबहादुर शाही, कला शर्मा, पञ्चवीर घर्ती लगायत सदस्य रहनुभएको छ।
सम्मेलनले साउन १५ गतेभित्र पालिका एकता भेला सम्पन्न गर्ने जिम्मेवारीसमेत तोकेको छ।
जसअनुसार जैमिनी नगरपालिकामा प्रेम शर्मा, बागलुङ नगरपालिकामा सुरेन्द्र चपाई, बरेङ गाउँपालिकामा इन्द्र वर्मा, काठेखोला गाउँपालिकामा होमबहादुर पुन, ताराखोला गाउँपालिकामा नरबहादुर घर्ती मगर, गलकोट नगरपालिकामा हेमबहादुर बुढाथोकी, बडिगाड गाउँपालिकामा प्रकाशचन्द्र घिमिरे, निसीखोला गाउँपालिकामा इन्द्रलाल रेग्मी, ढोरपाटन नगरपालिकामा थमनाथ पौडेल र तमानखोला गाउँपालिकामा देवबहादुर विकलाई जिम्मेवारी प्रदान गरिएको छ।
कार्यक्रम नेपाल शिक्षक संगठन बागलुङका संयोजक वीरबहादुर चोखालको अध्यक्षतामा सम्पन्न भएको थियो। सदस्य प्रेम छन्त्यालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव प्रकाश रोका मगरले गर्नुभएको थियो।













































































































































































































