२७ असार २०८३, शनिबार

 

रास्वपाको केन्द्रीय सदस्यमा सोम शर्मा कायम, निर्वाचन आयोगले अन्तिम निर्णय गर्‍यो

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा बागलुङ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोम शर्मा पार्टीको केन्द्रीय सदस्यमा कायम भएका छन्।

चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट गण्डकी प्रदेशको भूगोलतर्फ केन्द्रीय सदस्यमा निर्वाचित घोषणा गरिएका शर्माको नाम अन्तिम सूचीबाट हटाइएको थियो। त्यसपछि उनले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएका थिए।

उजुरीमाथिको अन्तिम सुनुवाइपछि केन्द्रीय निर्वाचन आयोगले सोम शर्मालाई नै केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्णय गरेको हो।

यसअघि पूजा बास्तोलाको उजुरीपछि शर्माको नाम हटाइएको थियो। तर, आयोगले विधानअनुसार नामावली सच्याउँदै शर्मालाई पुनः कायम गरेको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

उनका अनुसार पाँच सदस्यमध्ये दुई जना महिला अनिवार्य हुनुपर्ने र प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको क्लस्टरबाट पनि एक जना प्रतिनिधित्व गर्नुपर्ने विधानको व्यवस्था छ। सोही आधारमा मतका आधारमा पाँचौँ स्थानमा रहेकी पूजा बास्तोलाको स्थानमा सातौँ स्थानमा रहेकी विष्णुकुमारी गुरुङलाई कायम गरिएको हो।

महाधिवेशनमा सोम शर्माले ९९३ मत प्राप्त गरेका थिए। निर्वाचन आयोगको निर्णय अन्तिम हुने भएकाले अब केन्द्रीय सदस्यमा शर्माको नाम नै कायम रहने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung