३१ असार २०८३, बुधबार

 

सिवाईसी सहकारीले सार्वजनिक ग-यो आगामी वर्षको नीति तथा कार्यक्रम

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि सदस्य केन्द्रित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

संस्थाले सदस्यको आर्थिक, सामाजिक तथा व्यावसायिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै वित्तीय सेवा विस्तार, वित्तीय साक्षरता, व्यवसाय प्रवर्द्धन, सामाजिक उत्तरदायित्व तथा संस्थागत सुशासनलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ ।

सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सदस्यको बचत र ऋण सेवालाई थप प्रभावकारी बनाउने, नयाँ सदस्य विस्तार गर्ने, वित्तीय तथा प्रविधि साक्षरता कार्यक्रम सञ्चालन गर्ने, उद्यमशीलता विकासका लागि व्यवसाय परामर्श तथा सीपमूलक तालिम प्रदान गर्ने योजना समेटिएको छ ।

संस्थाले आकस्मिक स्वास्थ्य सहायता, सदस्य शिक्षा, बाल बचत तथा छात्रवृत्ति कार्यक्रम, महिला, युवा तथा ज्येष्ठ सदस्य लक्षित विशेष कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

सदस्यको जीवनस्तर सुधारका लागि विभिन्न व्यवसायसँग सहकार्य गरी सहुलियत सुविधा उपलब्ध गराउने, घरायसी खर्च व्यवस्थापन र मर्मत–सम्भारसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने नीति पनि लिइएको अध्यक्ष चण्डी प्रसाद शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार एक हजार ६६० शेयर सदस्य थप गरी २८ हजार ७०० शेयर सदस्य पु¥याउने लक्ष्य रहेको बताउनुभयो । त्यसैगरी, राष्ट्रिय सहकारी नियमन प्राधिकरणले तोकेको मापदण्डअनुसार संस्थाको वित्तीय स्वास्थ्य सुदृढ बनाउँदै पूँजी पर्याप्तता कायम गर्ने, सुशासन र पारदर्शितालाई थप मजबुत बनाउने तथा सदस्य सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षण, सरसफाइ, वृक्षारोपण, रक्तदान, स्वास्थ्य परीक्षण, ट्राफिक सचेतना तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

संस्थाले आगामी आर्थिक वर्षमा बचत, ऋण, शेयर पुँजी, जगेडा कोष, सदस्य संख्या लगायतका वित्तीय सूचकहरूमा उल्लेखनीय वृद्धि गर्ने लक्ष्यसमेत निर्धारण गरेको जनाएको छ ।

सहकारीमा ३८ करोड ८७ लाख शेयर पूँजि, २० करोडको जगेडा कोष, एक अर्ब ६६ करोड बचत ५६ लाख बचत तथा एक अर्ब ३७ करोड लगानी रहेको छ भने ६० करोड तरलता रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

कार्यक्रम सहसचिव सुवास आचार्यको सञ्चालन, मोहन प्रसाद उपाध्ययको स्वागत तथा पत्रकार महासंघका सचिव नारायण रिजालको मन्तव्यमा समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung