५ श्रावण २०८३, मंगलवार

 

उजुरीपछि रास्वपा बागलुङको जिल्ला समिति खारेज, सात दिनभित्र नयाँ अधिवेशनको मिति

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले बागलुङको प्रथम जिल्ला अधिवेशनबाट गठन गरिएको जिल्ला कार्यसमिति बदर गर्दै जिल्ला अधिवेशन पुनः गराउने निर्णय गरेको छ।

आयोगले जिल्ला अधिवेशन सम्पन्न भएपछि प्राप्त उजुरी, उपलब्ध तथ्य तथा प्रमाण तथा सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको विस्तृत अध्ययनपछि अधिवेशन पार्टीको जिल्ला अधिवेशन कार्यविधिअनुसार सञ्चालन नभएको निष्कर्ष निकालेको जनाएको छ।

उक्त निष्कर्षका आधारमा अधिवेशनबाट गठन गरिएको भनिएको जिल्ला कार्यसमितिको घोषणा पूर्ण रूपमा बदर गरिएको आयोगले जनाएको छ।

साथै, पार्टीको जिल्ला अधिवेशन कार्यविधिअनुसार पुनः अधिवेशन सञ्चालन गर्न निर्देशन दिइएको छ।

आयोगका प्रमुख भुवन केसीका अनुसार नयाँ जिल्ला अधिवेशनको मिति, समय, स्थान तथा निर्वाचन समिति गठनसम्बन्धी निर्णय आगामी सात दिनभित्र सार्वजनिक गरिनेछ।

सोही निर्णयका आधारमा पुनः जिल्ला अधिवेशन सम्पन्न गरिने आयोगले जनाएको छ। आयोगले आफ्नो निर्णय सम्बन्धित निकायहरूमा पठाइसकेको र तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको पनि उल्लेख गरेको छ।

गत २०८३ जेठ २३ गते गलकोटमा सम्पन्न रास्वपाको प्रथम जिल्ला अधिवेशनबाट पुनम प्रसाद शर्माको नेतृत्वमा जिल्ला कार्यसमिति घोषणा गरिएको थियो।

अध्यक्ष घोषणा प्रक्रिया एकलौटी भएको आरोप लगाउँदै अध्यक्षका अर्का आकांक्षी ढालेन्द्र रायमाझी पक्षधरले अधिवेशनस्थलमै विरोध जनाएका थिए। त्यसपछि अधिवेशन विवादित बनेको थियो भने सोही विषयमा केन्द्रीय निर्वाचन आयोगमा उजुरी परेको थियो।

अब आयोगको पछिल्लो निर्णयसँगै बागलुङमा रास्वपाको जिल्ला नेतृत्व चयनका लागि पुनः अधिवेशन हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung